काठमाडौं । दलहरूबीच चुनावी तालमेल कारण स्थानीय तह निर्वाचनमा बदर मतको संख्या बढ्ने सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् ।
आम निर्वाचन परिवेक्षण समितिले दलहरूबीच चुनावी तालमेल भएका कारण बदर मतको संख्या बढ्ने निष्कर्ष निकालेको हो ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले प्रतिवेदन सार्वजनिक गरेको हो । समितिको प्रतिवेदनमा तालमेलबारे मतदाता जानकार नहुँदा उमेदवार नभएको ठाउँमा मतदान हुन सक्ने उल्लेख छ ।
“मतपत्र बदर हुन नदिनेतिर त्यति चासो पुगेको देखिँदैन । दुई वा दुईभन्दा बढी दलहरूबीच तालमेल गरी उमेदवारी दिइएको र मतदातामा तालमेलबारे जानकारी नहुँदा उमेदवार नभएको ठाउँमा मतदान हुन सक्ने र त्यसले बदर मतको संख्या बढाउन सक्ने देखिन्छ,” प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, मतपत्रमा कसरी चिह्न लगाउनुपर्छ भन्ने जानकारी मतदातालाई नहुँदा मतपत्र बदर हुन सक्ने सम्भावना पनि औँल्याइएको छ । राजनीतिक दलहरूले पनि मतपत्र बदर नहुने गरी मतदान गर्न सिकाउनुपर्ने भए पनि त्यसतर्फ ध्यान नपुगेको समितिको ठहर छ । मतदाता शिक्षा पर्याप्त नदिइँदा योपटक बदर मतको संख्या बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा निर्वाचन आयोगले मतदान प्रक्रियाबारे मिडियामार्फत प्रचार सामग्री राखे पनि त्यो पर्याप्त नभएको उल्लेख छ । मतपत्र बदर हुन नदिन मतदातालाई शिक्षा पर्याप्त नदिँदा यसपालि मतपत्र बदर संख्या बढ्ने सम्भावना देखिएको समितिको भनाइ छ ।