काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आउँदो असोज १५ गते १० वर्षपछि कन्सर्ट हुने भएको छ । शनिबारका दिन, दसैँको मौका पारेर रंगशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन लागेको हो । उक्त कन्सर्टमा दि एज ब्यान्ड, नितेशजङ कुँवर, बर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुबानी मोक्तान, दि एलिमेन्ट्स ब्यान्डडलगायतका कलाकारहरुले प्रस्तुती दिनेछन् ।
उक्त साङ्गीतिक कार्यक्रमले युवा वर्गमा दसैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको पार्टी नेपालका श्री गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । नितेशजङ कुँवरले यस कार्यक्रममार्फत् तीन वर्षपछि स्टेजमा चढ्न पाउँदा आफू असाध्यै खुसी भएको बताएका छन् ।
यस दसैं महोत्सवको टिकटक प्रतिस्पर्धासमेत राखिएको छ । यसअन्तर्गत १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेन्टमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कारहरु प्रदान गरिनेछ ।कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेन्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो । यसमा २० हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको छ । उक्त कन्सर्टको टिकटको मूल्य १ हजार देखि पाँच हजारसम्मको हुने जानकारी दिइएको छ ।