दुई तिहाइको सरकारले अध्यादेश होइन, संसदबाट विधेयक ल्याउनुपर्छ : नेता साउद

बुटवल, पुस २८ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले दुई तिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउने प्रक्रिया सकारात्मक नभएको बताएका छन्। संसद् बैठक नचलाई बन्धक बनाउँदै अध्यादेशबाट ऐन निर्माण गर्न खोज्नुले चौतर्फी प्रश्न उठाएको भन्दै उनले संसद् सञ्चालन गरी विधेयकमार्फत काम गर्न सरकारलाई चेतावनी दिए।

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले संसद् छलेर अध्यादेशमार्फत कानुन बनाउनु संविधानको भावना विपरीत रहेको बताए। “संसद्लाई लामो समयसम्म बन्धक बनाएर सरकारले विभिन्न ऐनहरू अध्यादेशमार्फत ल्याउँदैछ, जुन संविधानसंगत छैन,” साउदले भने, “यसले सकारात्मक सन्देश दिन सकेको छैन।”

संविधान संशोधन र स्थिरतामाथि जोड

साउदले संविधानलाई उन्नत बनाउने र सबैले स्वीकार गर्न सक्ने गरी संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “संविधानमा स्थिरताको तत्त्व समावेश गरेर राष्ट्रिय सहमति कायम गर्दै ठोस परिणाम दिने गरी काम गर्नुपर्छ।”

सहमति कार्यान्वयनमा सरकार असफल

नेता साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले दिएको समर्थनबारे टिप्पणी गर्दै दुई दलबीचको न्यूनतम साझा सहमति कार्यान्वयन नभएको गुनासो व्यक्त गरे। उनले सहमति विपरीतका गतिविधि र अभिव्यक्तिले गठबन्धनको जग कमजोर बनाउने चेतावनी दिए।

“प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशीलता अपनाउन जरुरी छ,” साउदले भने, “गठबन्धनको आधारलाई जोगाउन प्रधानमन्त्रीले सहमति विपरीतका अभिव्यक्तिबाट बच्नुपर्छ।”

चौतर्फी विरोध

साउदले सरकारले अध्यादेशमार्फत ल्याइएका कानुनी प्रबन्धहरू विपक्षी दलको समर्थन योग्य भए पनि संसद् छल्ने प्रवृत्तिले चौतर्फी विरोध भैरहेको उल्लेख गरे। “स्थिरता र सहमतिका लागि संसद्को उचित उपयोग गर्नुपर्छ,” उनले जोड दिए।

सरकारलाई संवैधानिक र जनउत्तरदायी बनाउँदै समावेशी र दीर्घकालीन नीति निर्माण गर्न साउदले आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *