नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले खोल्यो ३६ वटै ढोका

परासी । नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँधका सबै ३६ वटै ढोका खोलिदिएको छ।  दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो। 

देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो तटीय क्षेत्रमा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो। गण्डक बाँधको ढोकाको चाबी सधैं भारतले राख्ने गरेको छ। 

पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ। ढोका नखोले नवलपरासीका ४० बढी गाउँ डुबानमा पर्छन्। नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ। 

गण्डक बाँधको क्षमता प्रति सेकेण्ड साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने रहेको छ । तर पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने अवस्थामा पुगेको छ । 

३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिन्छ। अहिले २ लाख ९७ हजार प्रति सेकेण्डको बेगले पानी बगेको छ। पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने आशंका गरिएको छ । 

पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *