काठमाडौं । निर्वाचन व्यवस्थापन सुधारका लागि निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक पेस गर्नेगरी तयारी अघि बढाइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले कान्तिपथस्थित आयोग परिसरमा आयोजना गरेको जलपान समारोहमा बोल्दै उहाँले सो जानकारी दिनुभएको हो ।
निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिल्याई सबै सरोकारवालाको सुझाव तथा परामर्शमा सो विधेयकको मस्यौदा पेस गर्न लागिएको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ रहेको छ ।
‘निर्वाचन सम्पन्न भएपछि त्यसको समीक्षा गर्नै, सुझाव लिने, असल अभ्यासलाई ग्रहण गर्ने र कमीकमजोरीलाई हटाउन आवश्यक सुधारको प्रक्रिया अगाडि बढाउने कार्यलाई आयोगले निरन्तरता दिनेछ । सो क्रममा विधेयकको मस्यौदा पेस गर्ने तयारी अभि बढाइएको हो ।’, उहाँले भन्नुभयो ।