नेपालमा गैरकानूनी रुपमा समाचार संकलन गर्दै विदेशी मिडिया र पत्रकार

काठमाडौं । विदेशी सञ्चार माध्यम तथा पत्रकारले नेपालमा अनुमति नै नलिई समाचार संकलन गर्ने गरेको पाइएको छ । पछिल्लो समय मुलुकमा भइरहेका आन्दोलन तथा विरोध कार्यक्रमको समाचार विभिन्न विदेशी मिडिया तथा पत्रकारले सम्बन्धित निकायबाट अनुमति नलिई संकलन र सम्प्रेषण गरिरहेको पाइएको हो ।

प्रेस काउन्सिल नेपालले त्यस्ता गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलका अनुसार अनधिकृत रुपमा समाचार संकलन गरी सम्बन्धित सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत एकपक्षीय र अतिरञ्जित तवरले सम्प्रेषण गरिएको भेटिएको छ ।
कुनै पनि विदेशी सञ्चार माध्यम तथा पत्रकारले नेपालभित्र समाचार सामग्री संकलन, सम्प्रेषणका लागि कानूनी रुपमा तोकिएको प्रक्रिया अपनाई सूचना तथा प्रशारण विभागबाट अनुमतिपत्र वा प्रेस प्रतिनिधि प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । तर, त्यस्तो नगरी गैरकानूनी एवम् पेशागत आचरणविपरीत समाचार संकलन गरेर सम्प्रेषण गरेको पाइएको काउन्सिलको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको प्रचलित कानूनअनुसार अनुमतिपत्र, परिचयपत्र प्राप्त नगरी गरिएको कुनै पनि पत्रकारितासम्बन्धी गतिविधि गैरकानूनी एवं पेसागत आचरण विपरीत हुने हुँदा कानूनअनुसार अनुमति लिएर मात्र समाचार संकलन, सम्प्रेषण गर्न गराउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराइन्छ ।’

काउन्सिलले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनताविरोधी, जातजाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीच सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, अन्तर्राष्ट्रिय समझदारी र मित्र राष्ट्रहरुबीच भाइचाराको सम्बन्धमा प्रतिकूल असर पार्ने किसिमका सामग्री सम्प्रेषण नगर्नसमेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *