काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रका सबै गुटलाई भत्काउनुपर्ने बताउनुभएको छ । नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा बिहीवार काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले कांग्रेस पुर्ननिर्माणका निम्ति सबै गुटलाई भत्काउनुपर्ने बताउनुभएको हो ।
उहाँले कांग्रेसलाई सुधार्नका लागि सबै गुट भत्काउनु आवश्यक रहेको बताउनुभयो । उहाँले काँग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरुबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरुको साथ छोड्न आग्रह गर्नुभयो ।
महामन्त्री थापाले नागरिक कुशासन, भ्रष्टाचार र बेथितिबाट आजित रहेको उल्लेख गर्दै कांग्रेसले यी तीन चीज लाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले कार्यकर्तालाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ सदस्यहरु पार्टीमा आउने बताउनुभयो । उहाँले कांग्रेसको पुनःनिर्माण सम्भव भएको बताउनुभयो ।