पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदै

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदै गएको बताउनुभएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित १५औँ संस्करणको हिसान स्पोर्ट्स मिटको आज पोखरामा उद्घाटन गर्दै उहाँले पोखरामा हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता एवं खेल गतिविधिले यसलाई खेलकुदको संस्कृतियुक्त सहरका रूपमा स्थापित गर्न सहयोग गरेको बताउनुभयो ।

पोखरालाई खेलकुद राजधानीको सहरका रूपमा घोषणा गर्न प्रदेश सरकारले पटक–पटक आफ्ना कुरा सङ्घीय सरकारलाई अघि बढाएको उहाँले बताउनुभयो । हिसानले शिक्षा क्षेत्रसँगै खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।

हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव रमेश सिलवालले खेलकुदमा कहिल्यै पनि राजनीतिमा जस्तो हार वा जित नहुने बताउनुभयो । खेलकुदले एकताको विकास गर्न अहम् भूमिका खेल्ने उल्लेख गर्दै उहाँले हिसानले आगामी दिनमा राष्ट्रियस्तरको फुटसल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्का, हिसान स्पोर्ट्स मिटका संयोजक डा रामजी शर्मालगायतले शिक्षासँगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्ट्स मिटलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा अतिरिक्त क्रियाकलापका विजेता विद्यालय तथा विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न विद्यालयका विद्यार्थीले एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *