काठमाडौं । चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिविरुद्ध विराटनगरका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले बिहीबारदेखि बन्द हड्तालमै उत्रिने योजना सार्वजनिक गरेका छन्।
बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उद्योगी व्यवसायीहरूले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरूलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन्। उनीहरूले चरणबद्ध आन्दोलन समेत घोषणा गरेका छन् ।
उद्योगी व्यवसायीहरूका दुई दर्जनभन्दा बढी संघ संस्थाहरूले बिहीबारदेखि राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, बिहीबार एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेका छन्।
आन्दोलन निष्कर्षमा नपुगेसम्म आन्दोलनलाई देशव्यापी बनाउने व्यवसायीहरुको चेतावनी छ । उद्योगी व्यवसायीहरूले पाँच सुत्रीय माग अघि सारेका छन्। चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरूको पहिलो माग छ। चालु पुँजी कर्जा २५ प्रतिशतमा सीमित राख्ने निर्देशिकाले आफूहरू मारमा परेको उद्योगीको भनाइ छ।
एकल अंकको ब्याजदर कायम गर्नुपर्ने माग पनि उनीहरुले गरेका छन् । अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरूको भनाइ छ।
स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरूको छ। नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायतका दुई दर्जनभन्दा बढी संघ संस्थाले बिहीबारदेखि सडक आन्दोलनको घोषणा गरेका हुन्।