काठमाडौं । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि स्रोतबाटै छुट्टाछुट्टै फोहोर उठाइने ब्यहोराको सूचना जारी गर्यो। सूचनामा कुहिने जैविक र नकुहिने अजैविक फोहोर वर्गीकरण नगरे जरिवाना गर्ने चेतावनीसमेत दिइएको थियो।
वर्गीकृत फोहोर बेग्लाबेग्लै उठाएर कुहिनेबाट कम्पोस्ट मल बनाउने र नकुहिने फोहोर रिसाइकल गरी तथा पुनः प्रयोग गर्न सकिने अवस्थामा भए विक्री गर्ने महानगरले योजना अघि सारेको छ।
तर, यो सूचना जारी गरेको दिनदेखि नै काठमाडौंका सडकमा फोहोर थुप्रिन थालेको छ। काठमाडौंका सडकमा दुर्गन्ध फैलन थालिसकेको छ ।
महानगरपालिका आफैंले सूचना जारी गरेर कुहिने–नहुकिने फोहोर नछुट्याउनेलाई बारवाही गर्ने चेतावनी दिए पनि महानगर आफैंले फाहोर छुट्याएर व्यवस्थापन गर्नै सकिरहेको छैन । कुहिने र नकुहिने फोहोर कसरी छुट्याएर राख्ने भन्नेबारे महानगरले काठमाडौंबासीलाई सिकाउन पनि सकेको छैन ।
एकातिर महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउने नीतिलाई उपभोक्तासम्म कार्यान्वयनमा लैजान सकेको छैन भने अर्कोतिर ल्याण्डफिल्ड साइटको बाटो मर्मत गर्न नसकेर शहरको फोहोर सडमकै हार लगाएर राख्न थालेको अवस्था छ ।
काठमाडौँ महानगरपालिकाले प्लान्ट स्थापना गरेर कम्पोस्ट मल उत्पादन गर्ने बताइरहेको छ। तर, चालु आर्थिक वर्ष २०७९/०८०को बजेटमा भने कम्पोस्ट मलबाट कौसी खेती कार्यक्रमका लागि मात्र बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा महानगरले कौसी खेती कार्यक्रमकै लागि १६ लाख बजेट छुट्याएको थियो। यो आर्थिक वर्षमा यही शीर्षकमा ५० लाख विनियोजन गरिएको छ।