काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले विवाह गर्नका लागि २० वर्ष उमेर पुग्नुपर्ने प्रावधानप्रति आफू सहमत नरहेको बताउनु भएको छ । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विवाहका लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी प्रावधान पुनरावलोकनका लागि मन्त्रालयले अध्ययन सुरु गरिसकेको जानकारी दिनुभयो ।
‘यसमा हामीले स्टडी सुरु गरिसकेका छौं । १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्नचाहिँ २० वर्ष कुर्नुपर्छ,’ उहाँले भन्नेभयो, ‘बिहे गर्न २० वर्ष कुर्नुपर्ने कुरा कुनै पनि स्ट्यान्डरले देखाउँदैन । यसले बरु अपराध बढाउने कुरा भइरहेको छ । त्यसैले यसमा रिभ्यु गर्नुपर्छ र रिभ्युको प्रोसेस कानुन मन्त्रालयले थालिसकेको कुरा म अवगत गराउन चाहन्छु ।’