बुद्ध र यतिले गरे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित पहिलो उडान

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको नीजि क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी बुद्ध र यति एयरले बिहीबार नवनिर्मित विमानस्थलमा सफलतापूर्वक यात्रुसहित पहिलो उडान गरेसँगै पोखरेलीमा खुसियाली छाएको छ। विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान र अवतरण भएसँगै उत्साह बढेको हो ।

यही पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि विमानस्थलबाट व्यावसायिकरुपमा आन्तरिक तथा बाह्य उडानको योजना नेपाल नागरिक उड्डयन प्राधिरणले बनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडानको टुङ्गो लागि नसके पनि आन्तरिक उडान भने सोही विमानस्थलबाट हुने निश्चित छ ।

भव्य विमानस्थल निर्माण भएर उडान सुरु भएसँगै यहाँका उद्योगी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतले खुसी साटासाट गरे । परीक्षण उडानमा सहभागी भएर उद्योगी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीले खुसी साटेका हुन् । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानस्थलमा परीक्षण उडान सफल भएर विमानस्थल सञ्चालनको अन्तिम तयारी हुनु सबै पोखरेलीका लागि खुसीको कुरा भएको बताउनुभयो । उहाँले लामो समयको प्रतीक्षापछि विमानस्थल बनेकाले सबै मिलेर समस्या समाधान गर्दै निरन्तर सञ्चालनका लागि लागि पर्नुपर्ने बताउनुभयो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बाधक बनेका रिठेपानी डाँडा कटान र ल्याण्डफिलसाइटको समस्या समाधानसँगै उडान थप सुनिश्चित बनेको छ । ल्याण्डफिल साइटमा पोखरा महानगरले फोहरमैला लैजान बन्द गरेको छ । त्यसैगरी डाँडा कटानको काम पनि धमाधम भइरहेकाले विमानस्थल तोकिएको मितिमै सुनिश्चित भएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार हाल वडामै फोहर व्यवस्थापनको अल्पकालीन व्यवस्थापन गरिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलका लागि जमिन अधिग्रहण गरिएको चारदशकपछि २०७३ सालमा नयाँ वर्षका दिन शिलान्यास भएर काम सुरु भएको विमानस्थल निर्माण २०७४ सालदेखि सुरु भएको हो । विसं २०३२ मा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनेर पहिलोपटक जमिन अधिग्रहण गरिएको थियो ।

पोखरा–१४ चाउथेमा विमानस्थलका लागि छुट्टाएको तीन हजार एक सय रोपनी जमिन लामो समय त्यत्तिक्कै रह्यो । विमानस्थलका लागि थप काम सुरु नहुँदा धेरैले आस मारेका थिए । लामो सङ्घर्षपछि पोखरामा विमानस्थल बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *