काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर भैँसेपाटीस्थित मेडीसिटी अस्पताल भर्ना हुनुभएको छ।
पार्टी कार्यक्रमका लागि भैरहवा पुग्नु भएका अध्यक्ष ठाकुरको स्वास्थ्यमा बुधबार विहान समस्या आएपछि भैरहवास्थित भीम अस्पताल पुर्याइएको थियो। शरीरमा दुखाई र ज्वरोको कारण अध्यक्ष ठाकुरलाई उपचारका लागि विहान अस्पताल ल्याइएको भीम अस्पतालका स्वास्थ्यकर्मी गोपाल उपाध्यायले जानकारी दिनुभयो।
उनका अनुसार ठाकुर अस्पतालमा आउँदा अक्सिजन लेभल ८६–८८ रहेको, ज्वरो १०३ डिग्री र छातीको एक्सरेपश्चात् निमोनिया देखिएको थियो। थप उपचारका लागि काठमाडौं पठाउँदा १० लिटरमा अक्सिजन दिँदा अक्सिजन लेभल ९४ पुगेको उपाध्यायले बताए। भैरहवाबाट हेलिकोप्टरमा काठमाडौं ल्याइएका अध्यक्ष ठाकुरको अवस्था अहिले सामान्य रहेको मेडिसिटी अस्पताल स्रोतले जनाएको छ।