माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक प्रज्ञा प्रतिष्ठानमा शुरू

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरू भएको छ । आइतवारबाट तीन दिनका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पटकपटक स्थगित हुँदै आएको माओवादी केन्द्रको बैठकलाई चासोपूर्वक हेरिएको छ ।

बैठकले स्थायी कमिटी, पोलिटब्युरो कमिटी र पदाधिकारी चयन गर्ने एजेण्डा भएकाले पनि माओवादी वृत्तले यस पटकको केन्द्रीय कमिटीको बैठकलाई चासोपूर्वक लिएका छन् । माओवादी केन्द्रको पदाधिकारी चयनमा धेरैले चासो दिएका छन् । विशेष गरी माओवादी केन्द्रको महासचिवको जिम्मेवारी कसले पाउने भन्नेमा सर्वत्र चासो छ ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बैठकमा संगठनसम्बन्धी प्रस्तावमा छलफल हुने बताउनु भएको छ । त्यसबाहेक स्थानीय तह चुनावको समीक्षा, आगामी चुनावी रणनीति र माओवादी घटकहरूबीचको एकताको विषयमा पनि माओवादी केन्द्रको बैठकमा छलफल हुने बताइएको छ ।

महासचिव दाबी गरिरहेका जनार्दन शर्मा र वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल निकट भएका कारण उहाँलाई निर्णय गर्न अप्ठ्यारो परिरहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *