यस्ताे छ प्रत्यक्ष र समानुपातिकका मतपत्रमा मतदान गर्ने प्रक्रिया

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा  निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा  मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।

यस्तै, प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यो मतपत्रमा इच्छाएको उम्मेदवारको चुनाव चिह्नमा मतदाताले मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर नजिकैको ‘एक’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नु पर्नेछ । यो मतपत्र खसालिसके पछि दोस्रो चरणमा निजले पाउने प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा इच्छाएको राजनीतिक दलको चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘दुई’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ ।

तेस्रो चरणमा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ। यो मतपत्रमा इच्छाएको उम्मेदवारको चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्यएर ‘तीन’ लेखिएको नजिकैको मतपेटिकामा मत खसाल्नुपर्छ । चौथो तथा अन्तिम चरणमा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मतदातालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा मतदाताले आफूले इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर ‘चार’ लेखिएको नजिकैको मतपेटिकामा मत खासाल्नुपर्ने छ ।

हरेक मतदान केन्द्रमा व्यवस्था गरिने गोप्य कक्षमा राखिएको स्वस्तिक छापले मतदाताले मतपत्रमा मत सङ्केत गर्नुपर्ने व्यवस्था छ । मतदाताले मतदान केन्द्रमा मास्क लगाएर आ-आफ्नो परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था आयोगले गरेको छ । महिलाले तोकिएको महिलाको लाइनमा र पुरुषले तोकिएको पुरुषको लाइनमा लामबद्ध भई मतदान गर्न पाउने गरी मतदान केन्द्रको व्यवस्थापन गर्न लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *