एजेन्सी । युभेन्टसलाई युइएफएले यो सिजनको युरोपा कन्फ्रेन्स लिगबाट हटाउने निर्णय गरेको छ। फाइनान्सियल फेयर प्ले’ आर्थिक नियम उल्लंघन गरेको भन्दै युभेन्टसलाई जरिवानासमेत गरिएको छ ।
युरोपियन फुटबलको प्रशासकीय निकायले इंग्लिस क्लब चेल्सीलाई पनि अपूर्ण वित्तीय जानकारी दिएको भन्दै एफएफपी नियम उल्लंघन गरेकोमा जरिवाना गर्ने निर्णयसमेत गरेको छ । युइएफए ले यो कारबाही २०१२ देखि २०१९ को बीचमा भएको लेनदेनसँग सम्बन्धित रहेको जनाएको छ । युभेन्टसलाई १७.१४ मिलियन पाउन्ड जरिवाना गरिएको छ । चेल्सीलाई ८.५७ मिलियन पाउन्ड जरिवाना गरिएको छ । इटालियन क्लब युभेन्टसले आगामी तीन वर्षको वित्तीय विवरण राम्रो रहेको अवस्थामा आधामात्र जरिवाना तिर्नुपर्ने छ ।
चेल्सीले भने यसअघि नै सम्झौताअनुसार रकम तिर्न सहमत भएको जनाइएको छ । चेल्सीका नयाँ मालिक टोड बोहलीले २०२२ को मेमा क्लबको जिम्मेवारी सम्हालेयता १९ नयाँ खेलाडी खरिद गर्दा करिब ६०० मिलियन पाउन्ड खर्च गरेका छन् । तर युइएफएले गरेको जरिवाना भने सात वर्षदेखिको रहेको छ ।