लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित

बैतडी । जिल्लामा हालसम्म लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । रोगबाट पाँच सय दुई पशुचौपाया मरेका छन् ।

यो रोग हाल जिल्लाभर फैलिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो । उहाँका अनुसार यो रोग गत मंसिरमा देखिएको थियो ।

संक्रमणबाट हालसम्म बाच्छाबाच्छी, गाई, गोरु तथा भैँसी बढी प्रभावित भएका छन् । पन्तका अनुसार जिल्लामा २ हजार तीन सय ४८ बाच्छाबाच्छी, २ हजार नौ सय ६० गाई, २ हजार दुई सय ८० गोरु तथा छ सय व४५ भैंसी यस रोगबाट प्रभावित भएका छन् ।

लम्पी स्कीन रोगले गाई, गोरु र भैँसी धमाधम मर्न थालेका छन् । हालसम्म एक सय ३५ बाच्छाबाच्छी, एक सय ७६ गाई, एक सय ३२ गोरु र ३० भैँसी मरिसकेका पन्तले जानकारी दिनुभयो । लम्पीस्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन् । घरपालुवा पशुमा सङ्क्रमण र उक्त रोगले धमाधम मर्न थालेपछि चिन्ता बढेको दोगडाकेदार–३ श्रीकोटका मानसिंह विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरपालुवा जनावर धमाधम थला पर्न थालेका छन् । औषधि उपचार पनि छैन ।”

मकै छर्ने बेला गोरु बिरामी भएको उल्लेख गर्दै विष्टले रोपाइँ गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मकै छर्ने बेला गोरु बिरामी भएर समस्या भयो, अब रोपाइँ गर्ने बेला भयो, के गर्ने भन्ने चिन्त छ ।” रोगबारे प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गराइसकेको प्रमुख पन्तले बताउनुभयो । जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ ।

नियन्त्रणका लागि सामान्य औषद्योपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पन्तको भनाइ छ । लम्पी स्कीनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ । उहाँले भन्नुभयो, “सामान्य औषद्योउपचारबाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्ति मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन् । अहिले सङ्क्रमित देखिएका पशु पनि मर्ने क्रम झन बढ्ने देखिन्छ ।”

लम्पी स्कीन रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दश जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड रहेको छ ।  उहाँले भन्नुभयो, “रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्छ । जिल्लामा गत फागुनमा यो रोग भएको प्रमाणित भएको थियो । पशुचौपायामा ज्वरो आउने, सिँगान तथा र्याल बगाउने, शरीरमा गीर्खा आउने, दखुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *