लुम्बिनीमा अत्याधुनिक सुविधासहितको सभाहलको निर्माण सम्पन्न

काठमाडौं। लुम्बिनीमा अत्याधुनिक सुविधासहितको सभाहलको निर्माण सम्पन्न भएको छ ।  निर्माण सम्पन्न भएको उक्त ध्यान केन्द्रको जेठ २ गतेको बुद्ध जयन्तीका दिन उदघाटन गरिने लुम्बिनी विकास कोषले जनाएको छ । 

राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना अन्तर्गत अत्याधुनिक सुविधासहितको सभाहल निर्माण भएको हो । पाँच हजार मानिस अट्ने क्षमताको सभाहल र ध्यान केन्द्रको निर्माण तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको थियो । तर कोभिड–१९ का कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको निर्माण कम्पनी लुम्बिनी, अर्घाखाँची बाबुल जेभीका साइड इन्जिनियर वसन्त क्षत्रीले बताउनुभयो । सभाहल जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्नुहुने कार्यक्रम तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उक्त हलबाट सोही दिन सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

ध्यान केन्द्र १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ । फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । आठ हजार ३०० वर्गमिटर क्षेत्रमा रहेको सभाहललाई बन्द राख्न चारैतिरबाट चाइनिज इँटाको पर्खाल लगाइएको छ । हलभित्र पस्न मुख्य तीन वटा सेन्सर ढोका छन् । त्यस्तै ५२ वटा हाते ढोका छन् । हाते ढोका चार मिटर अग्ला र ढाइसाढे दुई मिटर चौडाइका छन् ।

पाँच हजार जना अटाउने छाता शैलीको हलमा ध्यान केन्द्रको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने प्रविधिको राखिएको छ । ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने प्यानल प्रयोग गरि साउण्ड प्रुफ बनाइएको छ । 

भित्र उज्यालोका लागि छतमा ४७६ बत्ती जडान गरिएका छन् । वाईफाई जोन बनाइएको छ । अत्याधुनिक र सुविधा सम्पन्न हल मुलुककै पहिलो भएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो । 

२०७४ सालको बुद्धजयन्तीका दिन हावाहुरी र झरीले कार्यक्रम स्थल भत्काएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही बेला पाँच हजार क्षमताको ध्यान केन्द्र लुम्बिनीमा बनाउने घोषणा गर्नुभएको थियो । १७ वैशाख ०७५ बुद्ध पूर्णिमाका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको शिलान्यास गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *