लुम्बिनी प्रदेशले लोकल रक्सीको उत्पादन तथा बजारीकरण गर्ने

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले जनजाति समुदायबाट उत्पादन हुने स्थानीय जातको मदिरा ‘लोकल रक्सी’ को उत्पादन तथा बजारीकरण गर्ने योजनालाई बजेट नै छुट्टाएर अगाडि सारेको छ । प्रदेशमा बढी पाइने कोदो, मौवा, अनदि, कुरिलोबाट उत्पादन हुने लोकल जातको मदिराको उत्पादन र बजारीकरण गर्नका लागि नयाँ योजना अगाडि सारिएको हो ।

प्रदेश सरकारको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनजाति समुदायबाट उत्पादन हुने पेय पदार्थको उत्पादन, प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्नको लागि अध्ययनसमेत गरेको जनाएको छ । मन्त्रालयले विज्ञहरुसँग छलफल गरेर तयारी सुुरु गरेर साउनदेखि काम थालनी गर्ने तयारी गरेको हो । भदौं महिनादेखि प्रदेशका ४ स्थानबाट समुदायस्तरबाट उत्पादन गर्दै आएको पेय पदार्थको बजारीकरण सुुरु हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनु भएको छ ।

‘पहिलो चरणमा यसको सुरुवातका लागि थोरै रकमबाट थालेका छौं, तत्काल यसको थालनी हुन्छ, धेरै जनाले रोजगार पाउने र धेरै रकम बाहिर जानबाट रोक्न सकिने तथ्यांकसहितको यसलाई सुरुवात गरिएको हो’ मुख्यमन्त्री केसीले भन्नुभयो ।

मगर, थारु, गुरुङ्ग, कुमाल समुदायले कोदो, मौवा,अनदिको चामल, कुरिलो, मकै, सालको मुनाबाट उत्पादन गर्ने पेय पदार्थलाई बजारीकरण गर्ने पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो। यसबाट १ देखि ५ लाख जनाले प्रदेशमा रोजगारी श्रृजना हुने मन्त्रलायले आंकलन गरेको चौधरीको भनाइ छ ।

‘मदिरामा ठूलो रकम बाहिरिएको छ, यसलाई व्यवस्थित बनाउने यो योजनाको सुरुवात भएको हो, जनजाति समुदायको यसको ठूलो प्रभाव पर्नेछ, धेरै रोजगारीको व्यवस्थापन हुनेछ, साउनदेखि यसलाई ब्राण्डिङ बनाएर लैजाने छौं, सुरुमा ४ जिल्लाबाट काम थाल्न बजेट व्यवस्थापन गरिएको हो’ मन्त्री चौधरीले भन्नुभयो ।

पहिलो चरणमा दाङ, रोल्पा, पाल्पा, रुकुमबाट पेय पदार्थको उत्पादन र बजारीकरण सुरु गर्ने तयारी गरिएको हो । आगामी आर्थिक वर्ष लागि प्रदेश सरकारले २ करोड बजेट छुट्टाएको र माग अनुसार बजेटको ब्यवस्थापन गरिने पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो विषयमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी, संचार मन्त्री तिलकराम शर्मा, पर्यटन मन्त्री डिल्लीबहादुर चौधरी, कानुन, महिला तथाबालबालिका मन्त्री रमा घर्तीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *