दाङ। लुम्बिनी प्रदेशसभाका निर्वाचित सदस्यहरुले आइतबार शपथ ग्रहण लिए पछिको पहिलो बैठक आज देउखुरीमा बस्दै छ । बैठकको अध्यक्षता जेष्ठ सदस्यका रुपमा गुल्मीको निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित ६९ वर्षिय डिल्लीराज भुसालले गर्नुहुने छ ।
भुसाललाई आइतबार नै प्रदेश प्रमुख अमिक शेरचनले जेष्ठ सदस्यको नियुक्ति दिनु भएको थियो । प्रदेशसभाले सभामुख र उपसभामुख चयन नगर्दासम्म भुसालले नै जेष्ठ सदस्यको रुपमा सभाको अध्यक्षता गर्ने प्रदेश सभाले जनाएको छ ।
आजको बैठकमा प्रदेश प्रमुख शेरचनले बैठक आहृवान सम्बन्धी पत्र पढेर सुनाउने र निर्वाचित प्रदेशसभा सदस्यलाई सबै दलका नेता एवं प्रतिनिधिले शुभकामना व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताउनु भयो ।
बैठक देउखुरीस्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्दैछ । लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेले संसदीय दलको नेतामा लीला गिरी र उपनेतामा चेतनारायण आचार्यलाई सर्वसम्मत चयन गरेको छ । कांग्रेसले सोमबार नै नेता चयन गर्दैछ । त्यस्तै, माओवादीले पनि दलको नेता चयनका लागि छलफल भइरहेको जनाएको छ ।
लुम्बिनी प्रदेशसभामा ८७ सदस्य छन् । तीमध्ये राप्रपाको समानुपातिकबाट निर्वाचित एक जना आइतबारको शपथ ग्रहणमा अनुपस्थित भएकाले सोमबारको बैठकमा ८६ जना मात्र सहभागी हुँदैछन् ।