काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सशस्त्र युद्धकाल सहकर्मी लेखराज भट्टराई फकाउन उहाँको निवासमै पुग्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहाल आइतबार बिहान कैलालीको अत्तरियास्थित भट्ट निवासमा पुग्नुभएको हो । प्रधानमन्त्री दाहाल सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा धनगढीको गेटा विमानस्थलबाट भट्टको निवासमा पुग्नु भएको हो ।
सशस्त्र युद्धकालमा अध्यक्ष दाहालसँग घनिष्ट भएर लामो समय उहाँलाई साथ दिनुभएका भट्ट अहिले भने नेकपा एमालेको केन्द्रीय सचिव हुनुहुन्छ । भट्ट नेकपा विभाजन भएपछि दाहालबाट टाढिएर केपी शर्मा ओलीलाई साथ दिँदै एमालेतिर लाग्नु भएको हो ।
माओवादी अध्यक्ष दाहालले भट्टलाई त्यसबेला पनि आफ्नो कित्तामा ल्याउन निकै प्रयत्न गर्नुभएको थियो । तर अध्यक्ष दाहालको प्रयत्न सफल भएन । सशस्त्र युद्धकालका दौंतरी माओवादी अध्यक्ष दाहाल र एमाले सचिव भट्टबीच अहिले पनि तिक्तता भने छैन । तर उहाँहरुबीच पहिला जस्तो सौहार्दपूर्ण सम्बन्ध पनि छैन । माओवादी अध्यक्ष दाहालले भट्टलाई एमालेबाट छुटाएर फेरि माओवादीमै फर्काउन चाहनु भएको खुमलटार स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाल अहिले त्यही प्रयत्नमा लाग्नु भएको छ ।त्यही मनसायसहित शनिबार भट्टराई भेट्न उहाँकै निवासमा पुग्नु भएको हो ।
दाहालले विगतमा एक कार्यक्रममा भट्ट एमालेतिर गएपछि आफूलाई रातभर निद्रा नलाग्ने गरेको बताउनुभएको थियो ।प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच शनिबार समसामयिक विषयमा छलफल भएको छ । लेखराज भट्ट राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गरेको प्रधानमन्त्री दाहालको भनाई छ ।
भेटघाटपछि प्रधानमन्त्री दाहालले भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताउनु भएको छ। ‘यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थें’ उहाँले भन्नुभएको छ– त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।’ अध्यक्ष दाहालले लामो समयपछि शनिबार भएको भेटवार्ता पनि त्यही निन्द्रा प्रसङ्ग कोट्याउनु भएको स्रोतले बताएको छ ।
भेटवार्तामा अध्यक्ष दाहालले एमालेसचिव भट्टलाई ‘तपाईले माओवादी छोडेदेखि म चिन्तित छु, म निदाएको छैन, मलाई चिन्तित नबनाउनुस् । तपाइँ अब एमाले छोडेर माओवादीमै फर्किनुस् । पार्टीमा के जिम्मेवारी लिने ? भन्नेबारे अरु साथीहरुसहित बसेरै सल्लाह गरौँ’ भन्नुभएको स्रोतको भनाई छ ।