विद्यालय तहको पाठ्यपुस्तक छपाई एक महिनामा सम्पन्न गर्न सरकारलाई निर्देशन

काठमाडौं। प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिना सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र छपाई सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्‍याउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो ।

छापिएको पुस्तक पनि तत्काल विद्यार्थीहरुलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए । समितिले ३५ लाख बाँकी पुस्तक छपाईको काम छिटो सम्पन्न गर्न अन्य प्रेसमा पनि काम गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको छ । समितिले विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीहरुको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाईको काम प्रदेश सरकार र वितरणको काम स्थानीय तहलाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ ।

सरकारी विद्यालयहरुमा पाठ्यपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले यसको समाधानका लागि प्रदेश सरकारलाई छपाईको र सम्बन्धित स्थानीय तहलाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति घर्तीले बताए । त्यस अवसरमा सभापति घर्तीले पाठ्यपुस्तक समेत समयमा पुग्न नसकेको कारण सरकारी विद्यालयहरुनै नरहने अवस्था आउने हो कि भन्ने चिन्ता छाएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *