काठमाडौं। सरकारले बोतल र जारको पानीको मूल्य तोकिदिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको मूल्य ४७ र एक लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ तोकिदिएको हो। विभागले सार्वजनिक गरेको मूल्यमा २० लिटरको जारको मूल्य घटाए पनि एक लिटरको बोटलमा भने मूल्य यथावत नै राखेको छ। यस अघि २०७७ सालमा सर्वसाधारणका लागि अधिकतम मूल्य ५० रुपैयाँ निर्धारण गरेको थियो। त्यस अघिसम्म सर्वसाधारणले एक जार पानी किन्दा औसतमा ३५ देखि ४० रुपैयाँ तिरिरहेका थिए।
यद्यपि विभागले नै जारको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकेको थियो। अहिले ३ रुपैयाँ घटाएर मूल्य निर्धारण गरेको हो। विभाग आफैले गरेको एक अध्ययन अनुसार उद्योगले एक जार पानी औसत २५ रुपैयाँ पर्छ। फेरि सरकार आफैले मूल्य निर्धारण गर्दा प्रति जार ४७ रुपैयाँ उपभोक्ता मूल्य तोकिदिएको हो।
विभागले काठमाडौं उपत्यकामा २० लिटरको जार पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, उपत्यकामा १ लिटरको बोटलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ कायम गरेको छ। त्यस्तै उपत्यका बाहिर एक जार पानीको अधिकतम मूल्य ६० रुपैयाँ र १ लिटरको बोटलको मूल्य २० रुपैयाँ कायम गरेको छ।