काठमाडौं । नेपाल-भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोसी ब्यारेज क्षेत्रका स्थानीयले आन्दोलन गर्ने भएका छन् ।
कोसी ब्यारेजस्थित नेपाल-भारत सीमामा बसेको दुई देशीय प्रतिनिधिहरुले रेल सेवा सञ्चालनको माग गर्दै आज आन्दोलन गर्ने निर्णय गरेका हुन् ।
रेलसेवा सञ्चालनको लागि भारतीय पक्षले नेपाल पक्षको समेत समर्थन जुटाएर संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् । सन् २०११ मा समपन्न कोसी सम्झौता अनुसार २०१६ देखि २०४० सम्म भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाक प्रयोग गरी पुनः रेल सञ्चालनमा ल्याउन दबाब सिर्जना गर्नेगरी आन्दोलन गर्न लागेको भारतीय रेल आन्दोलन संघर्ष समितिका अध्यक्ष मोहनप्रसाद रस्तागीले बताउनुभयो ।
प्रदेश १ का पूर्व पर्यटन मन्त्री जगदिश कुसियतले नेपाल–भारत संयुक्त रेलसेवा आन्दोलनको आवश्यकता महशुस भएकाले संयुक्त आन्दोलनमा उत्रन लागेको बताउनुभयो । उहाँले धार्मिक पर्यटनसँगै रोजगारी र विकासका लागि दुई देशीय रेल सञ्चालन आवश्यक रहेको बताउनुभयो ।
भीमनगरसम्म रेल मार्ग जोडिनुपर्ने भन्दै एक दशकयता सो क्षेत्रका बासिन्दा भारत सरकारविरुद्ध संघर्षमा छन् । कोसी ब्यारेजमा सम्पन्न भारतको वीरपुर, भीमनगर, बसमतीयासहित सीमावर्ती क्षेत्रका पूर्वसांसद, विधायक, सरोकारवाला र मुखिया सम्मिलित भेलाले भारतीय संघर्ष समितिलाई बिस्तार गरी अघि बढ्ने निर्णय गरेको छ ।