काठमाडौं। सुदूरपश्चिममा बिहान ११ बजेका लागि बोलाएको प्रदेश सभा बैठक स्थगित गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति नभएसम्म सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचनमा सहभागी नहुने अडान लिएपछि बैठक स्थगित भएको हो ।
नागरिक उन्मुक्तिले तीन मन्त्रालय, दुई संसदीय समितिको सभापतिमा लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा भाग नलिने अडान लिएको छ । बिहिबार भएको सभामुख निर्वाचनमा कसैले पनि बहुमत प्राप्त गर्न सकेका थिएनन् ।
प्रदेश सभा सचिवालयले सभा संचालनका सम्बन्धमा कानुनी सल्लाह लिनुपर्ने आवश्यक देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि वैठक स्थगित भएको सूचना जारी गरेको छ । सभामुखका लागि सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट भीमबहादुर भण्डारी र इतरपक्षबाट काँग्रेसका मानबहादुर रावलको उम्मेदवारी परेको छ । बिहिबार भएको निर्वाचनमा कसैले पनि बहुमत पुगाउन नसकेपछि पुनः आज बैठक डाकिएको थियो ।
सत्तापक्षको एक मत बदर भएपछि कसैको पनि बहुमत पुगेन । सभामुखमा भण्डारीको पक्षमा २६ मत आउँदा अर्का उम्मेदवार काँग्रेसका मानबहादुर रावलको पक्षमा २३ मत आएको थियो । प्रदेश सभामा ५३ जना सदस्य रहेको भए पनि बिहिबार भएको निर्वाचनमा ५० मत खसेको थियो । सभामुखको लागि सुदूरपश्चिम प्रदेश सभा सदस्यका २७ जनाको मत आवश्यक पर्छ ।