काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रूपैयाँ बढेको छ । गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा ६ सय रूपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७ सय रूपैयाँ थियो । जुन, ६ सय रूपैयाँले बढ्दै हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८ सय रूपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३ सय रूपैयाँ कायम छ ।
यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान नै कायम गर्यो । नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९ सय रूपैयाँसम्म पुगेर फर्किएको छ । यही साताको बिहीबार नेपाली बजारमा सुनले उक्त मूल्य कायम गरेको हो । यस्तै, यो साता चाँदीको मूल्यमा समेत सामान्य वृद्धि भएको छ ।