काठमाडौं । नेकपा एमालेका नेता भीम रावल र घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको छ । रावलले आफूलाई उम्मेदवार हुनबाट रोकिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिने संकेत गर्नुभएको छ । आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने उहाँको भनाइ छ ।
आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै उहाँले आइतबारसम्म निर्णय लिने बथाउनुभयो ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अछाम १ बाट रावल सर्वसम्मत रूपमा सिफारिस भए पनि उहाँको स्थानमा माओवादीबाट हालसालै एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिइएको छ।
यस्तै अर्का नेता घनश्याम भुसालले शनिबार एमाले छाडेको घोषणा गर्नुभएको छ । रूपन्देहीबाट सिफारिस भए पनि टिकट नपाएपछि भुसालले स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको उहाँ निकट स्रोतको भनाइ छ ।
४५ वर्षसम्म विधिको र पार्टी पुनर्स्थापनाको कुरा गरे पनि हाल सम्भव नदेखेपछि पार्टी छोड्नुपरेको उहाँको भनाइ छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने टिकट पाउनका निम्ति १० बुँदे पक्षधरले माफी माग्नुपर्ने आफूनिकटहरूसँग बताउँदै आउनुभएको थियो । एमालेको १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको आकांक्षामा रावल र घनश्याम भुसालले चुनौती दिनुभएको थियो ।