काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू र आफ्नो पार्टी संविधानको रक्षाका लागि सदैव तत्पर रहेको पनि बताउनुभएको छ ।
संविधान दिवसको अवशरमा शुभकामना जारी गर्दै उहाँले प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधान विरुद्ध लागेको भन्दै आफू र आफ्नो पार्टी संविधानको रक्षाका लागि सदैव तत्पर रहेको प्रष्ट पार्नुभएको हो ।
उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने मद्धत पुर्याएको बताउनुभएको छ ।
उहाँले जारी गरिएको सन्देशमा भनिएको छ, ‘प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि हो ।’
नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता जस्ता विषय संविधान जारी भएपछि नै प्राप्त गर्न सफल भएको उहाँको भनाई छ । साथै, उहाँले नजिकिँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा संविधान जोगाउने पार्टीलाई सुझबुझ तरिकाले मतदान गर्न पनि आग्रह गर्नुभएको छ ।
जारी सन्देशको पूर्ण पाठ:
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को शुभकामना !
नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाउँदै छौं । सर्वप्रथम, यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पुर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि हो । संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार भएको छ तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधान विरुद्ध लागिरहेको हामी सवैले अनुभुति गरिरहेका छौं ।
दुई दुई पटक असंबैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतीका विरूद्ध अघिल्लो बर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नु वान्छनीय हुनेछ । संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।
जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ । गत वैशाखमा स्थानीय निर्वाचन सफलतापुर्वक सम्पन्न भएको छ र निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । यही बेला संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने प्रपन्च गरिरहेका छन् ।
हामीलाई पूर्ण विश्वास छ, जनआकांक्षा अनुरुप आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने हाम्रो अभियानमा यहाँहरुबाट सहयोग, सद्भाव र सुझबुझपूर्ण निर्णय हुनेछ । अन्तमा, संविधान दिवस तथा राष्ट्रिय दिवसको यस ऐतिहासिक अवसरमा पुनः बधाई एवं शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
माधव कुमार नेपाल
अध्यक्ष तथा पुर्वप्रधानमन्त्री