काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झण्डै १० अंकले घटेर १ हजार ८ सय ३८.९६ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ०.५३ प्रतिशतले कम हो ।
असोज महिनादेखि बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका छन् । ब्याजदर बढ्न थालेपछि निरन्तरजसो शेयर ओरालो लागेको छ । सोही क्रमले बिहीबार पनि निरन्तरता पाएको जानकारहरू बताउँछन् । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।
वित्त कम्पनी उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५६ प्रतिशतले र लघुवित्त उपसमूहको परिसूचक १.०४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । बिहीबार २ सय २९ कम्पनीका २५ लाख ४२ हजार ८ सय ९९ कित्ता शेयर किनबेच भएको छ । ती किनबेचमा ६५ करोड ५७ लाख ५ हजार १ सय ६९ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधवार ७२ करोड १२ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
बिहीबार साताको अन्तिम कारोबार दिन हो । यसअघि शुक्रबार पनि शेयर कारोबार हुँदै आएकोमा यही असोजदेखि नेप्सेले शुक्रबारको कारोबार बन्द गरेको हो । उक्त निर्णयका आधारमा भोली देखिका सबै शुक्रबार शेयर बजार बन्द हुनेछन् ।