यो साता नेप्से ११८ अंकले घट्यो

काठमाडौं। उच्चतम बिन्दुबाट भने नेप्से ९६० अंक घटिसकेको छ । यो साता सेयर बजारको परिसूचक नेप्से ११८ अंक घटेको छ । गत साता २३५६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २२३८ मा कायम भएको छ । बजारको यो अंक १६ महिना अर्थात २०७७ पुसयताकै न्यून विन्दु हो ।गत भदौ २ गते बजार बन्द हुँदा नेप्से ३१९८ अंकमा थियो । भदौ ३ मा कारोबार भइरहँदा ३२ सय अंक पार गरेर बजार ओरालो लाग्न थालेको हो ।

सेयर बजार ओरालो लागिरहँदा ९ महिनामा लगानीकर्ताले झण्डै १३ खर्ब बराबर मूल्य गुमाएका छन् । गत भदौ २ गते बजारमा सूचीकृत धितोपत्रको कुल मूल्य (पुँजीकरण) ४४ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा हाल यो ३१ खर्ब ६४ अर्बमा झरेको छ । उच्चतम अंकबाट नेप्से ३० प्रतिशतले घटिसकेको छ । नेप्से उच्चतम अंकमा पुगेका बेला दैनिक १८–२० अर्बको कारोबार हुने गरेकोमा हाल यो एकदेखि दुई अर्ब बीचमा खुम्चिएको छ ।

निरन्तर बजार घट्नुमा तरलताको समस्या मुख्य कारण हो । तरलता अभावकै कारण बैंकको ब्याज बढेको छ भने ऋण लिन खोज्नेले पनि पाएका छैनन् । बैंकको ब्याज बढ्दा ठूला व्यक्तिगत तथा संस्थागत लगानीकर्ता (म्युचुअल फन्डसमेत) सेयर लगानीको साटो मुद्दती खातामा पैसा जम्मा गर्नतिर आकर्षित हुन्छन् । यसले माग घटाउने र आपूर्ति बढाउने हुँदा बजारमा सेयर मूल्य घट्छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि ब्याजदरलाई स्वतन्त्र छाड्न राष्ट्र बैंकलाई सुझाव दिएको छ । यसले आगामी दिनमा ब्याजदर अझै बढ्न सक्ने संकेत देखिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले शुक्रबार आयोजित ‘परिपक्व पुँजीबजार सम्मेलन’ कार्यक्रममा तरलता समस्याले पुँजी बजारलाई असर पारेको बताए । बजारमा नयाँ डेरिभेटिभ प्रोडक्टलाई ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै उनले नेप्सेमा इन्ट्राडे र सर्ट सेल उपकरण तत्कालै थप्नुपर्ने सुझाव दिए । सोही कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले बजारमा टेक्नोलोजिकल मेच्युरिटी, पोलिसी मेच्युरिटी, ट्रान्जेक्सनवाइज मेच्युरिटी, इथिकल मेच्युरिटी आउनुपर्ने बताए । उनले भने ‘नेपालमा पुाजीबजार सम्बन्धि जानकारी बै जनताले जान्न जरुरी छ । ५१ लाखले मात्रै होइन । सक्रिय रुपमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या वृद्धि गर्नु पर्छ । नेप्से प्रविधि मैत्री हुनुपर्छ । पुाजीबजारले देशको अर्थतन्त्रको ब्यारोमिटरको काम गरोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *