काठमाडौं । आज जनै पूर्णिमा । यस दिनमा व्रतबन्ध गरेका द्विजातिहरूले जनै फेर्ने गर्छन् । सनातन हिन्दू धर्मका १६ संस्कारमा उपनयन संस्कार अन्तर्गत जनै लगाउने गरिन्छ । यसलाई यज्ञोपवीत संस्कार भनिन्छ । याे पर्व सत्ययुगकाे कथासँग सम्बन्धित छ ।
सत्ययुगमा दानवले लखेटेका देवताहरूलाई गुरु बृहस्पतिले मन्त्रिएर लगाइदिएकाे यज्ञाेपवीतका कारण देवताहरूकाे रक्षा भएकाे भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धन पर्व सुरू भएकाे धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । उनका अनुसार मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिन्छन् । ब्राह्मण, क्षत्री र वैश्यले यसै दिन आफ्नो जनै फेर्ने गरेका छन् ।
जनै लगाउने पवित्र मन्त्र यसप्रकार छ :
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥
जनैलाई उपवीत, यज्ञसूत्र, ब्रह्मसूत्र लगायतका नामले पनि चिनिन्छ । जनै धारण गर्ने परम्परा वैदिक कालदेखि चलिआएको छ ।
उपनयन संस्कार भएका व्यक्तिले जनै लगाउँछन् । उपनयनको अर्थ हुन्छ नजिक लानु । कसको नजिक लाने त ? ब्रह्म (ईश्वर) र ज्ञान नजिक ।
जनै धारणको धार्मिक र वैज्ञानिक महत्त्व छ । धार्मिक महत्त्वको कुरा गर्दा द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ हुन्छ अर्को जन्म ।
जनै तीनवटा पवित्र सूत्रबाट बन्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि लगाइन्छ । तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई प्रतीक बनाएका छन् । देवऋण, पितृऋण र ऋषिऋण अनि सत्त्व, रज र तमको प्रतीक पनि यसलाई मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरणको र तीन आश्रमको पनि प्रतीक हो ।
जनैको लम्बाइ ९६ औंला हुन्छ किनकि जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा वास्तु निर्माण, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण लगायत पर्छन् ।
जनै धारणका नियम
मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । जनैलाई कम्मरमाथि राख्नुपर्छ र अपवित्र हुन दिनुहुँदैन ।
जनैको एक सूत्र चुँडियो वा जनै लगाएको ६ महिनाभन्दा बढी समय भयो भने बदल्नुपर्छ । चुँडिएको जनै शरीरमा धारण गर्नुहुँदैन । जनै मैलिन थाल्नुअघि नै परिवर्तन गर्नुपर्छ ।
घरमा जन्म वा मरणको सूतकपछि जनै बदल्ने परम्परा छ । जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला जप गरेर बदल्ने नियम छ ।