काठमाडौं । चीन र कोलम्बियाबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत संयुक्त सहकार्य योजनामा बुधबार हस्ताक्षर गरिएको छ। दुवै मुलुकका नेताहरूको बेइजिङमा भएको भेटपछि यो घोषणा गरिएको हो ।
रोयटर्सका अनुसार हालका वर्षहरूमा बिस्तार हुँदै गएको व्यापारिक सम्बन्धले चीनको ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रमा प्रभाव बढाउँदै लगेको छ । यी क्षेत्र संयुक्त राज्य अमेरिकाका लागि रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिन्छ ।
कोलम्बियाकी परराष्ट्रमन्त्री लौरा सराबियका अनुसार चीनको मुख्य अन्तर्राष्ट्रिय विकास परियोजना (बेल्ट एन्ड रोड) मा सहभागी हुने निर्णय कोलम्बियाको ‘पछिल्ला केही दशकयताकै साहसिक कदम’ हो ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘यस सहकार्य योजनाको हस्ताक्षरले व्यापार, लगानी र पर्यटनमा अन्तहीन सम्भावनाहरूको ढोका खोलिदिएको छ । अब पछाडि फर्कने कुनै विकल्प छैन – कोलम्बिया दृढताका साथ विश्व सामु खुल्दैछ ।’
संयुक्त राज्य अमेरिकापछि चीन कोलम्बियाको दोस्रो ठूलो व्यापारिक साझेदार हो। हालै चीनले कोलम्बियाको सबैभन्दा ठूलो आयातिक स्रोतको रूपमा अमेरिकालाई उछिनिसकेको छ ।
चीन उच्च गुणस्तरका कोलम्बियाली उत्पादन आयात गर्न, कोलम्बियामा चिनियाँ कम्पनीहरूको लगानी र व्यापारमा सहयोग गर्न, साथै पूर्वाधार निर्माणमा सहभागी हुन तयार रहेको कुरा राष्ट्रपति सी जिनपिङले राष्ट्रपति गुस्ताभो पेत्रोलाई बताएका सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
सोमबार कोलम्बियाका राष्ट्रपति पेत्रोले चीनद्वारा सन् २०१३ मा सुरु गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभमा कोलम्बिया सहभागी हुने घोषणा गरेका थिए। यस परियोजनाको उद्देश्य प्राचीन ‘सिल्क रोड’को पुनर्निर्माण गर्दै चीनलाई विश्वव्यापी व्यापार र पूर्वाधार नेटवर्कसँग जोड्नु हो ।
बेल्ट एन्ड रोड इनिसिएटिभमा हालसम्म १५० भन्दा बढी देश सहभागी भइसकेका छन्, जसमध्ये २० भन्दा बढी ल्याटिन अमेरिकी मुलुकहरू पनि छन्। तर, फेब्रुअरीमा पानामाले उक्त परियोजनाबाट अलग हुने निर्णय गरेको थियो, जसको दोष चीनले अमेरिकी दबाबलाई दिएको छ ।
अगस्ट २०२२ मा पदभार ग्रहण गरेका कोलम्बियाका राष्ट्रपति पेत्रो गत अक्टोबर २०२३ मा पहिलोपटक राष्ट्रपति हैसियतमा चीन गएका थिए। त्यस भ्रमणले सन् १९८० मा सुरु भएको द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा रूपान्तरण गरेको थियो ।