‘छक्का पञ्जा ४’ हेर्न पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल हलमा

काठमाडाैं । घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल हेर्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीद्वयसँगै पूर्व पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालगायतले कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा पुगेर चलचित्र हेर्नुभएको हो ।

राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर बुनिएको कथामा तयार भएको चलचित्र हेरेर नेताहरूले निर्माण टिमलाई बधाई दिनुभएको निर्माता तथा कलाकार निर्मल शर्माले जानकारी दिनुभयो ।

“दर्शकसँगै बसेर चलचित्र हेर्नुभयो । उहाँहरूले आफैँले टिकट समेत खरिद गर्नुभएको हो”, निर्माता शर्माले भन्नुभयो, “देशलाई अगाडि बढाउने नेतागणले चलचित्र र यो क्षेत्रलाई दिनुभएको समयप्रति कृतज्ञ छौँ । उहाँहरूको सहयोगले नै यो उद्योगले अन्य झैँ फड्को मार्नेछ।”

वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वयले चलचित्र हेर्ने खबर पाएपछि निर्माता शर्मासँगै अभिनेता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेत्री बेनिशा हमाल र अभिनेता तथा हास्य कलाकार केदार घिमिरे चलचित्र भवन पुग्नुभएको थियो ।

समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्ने चलचित्रले घरेलु बजारमै रु १० करोडभन्दा बढीको ग्रस व्यापार गरिसकेको निर्माण पक्षको दावी छ । हेमराज विसीको निर्देशनमा तयार भएको ‘छक्का पञ्जा ४’ हेरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अरुलाई समेत हेर्न सिफारिस गर्नुभएको छ ।

“नेपाली राजनीति र समाजलाई कलाकात्मक ढङ्गले व्यङ्ग्यात्मकरूपमा गरिएको प्रहार र प्रस्तुति गज्जब छ । सम्पूर्ण समूहलाई बधाई”, मन्त्री किरातीले भन्नुभयो । चलचित्रलाई केही दिन अगाडिनै पूर्वमन्त्री योगेश भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले समेत हेरेर प्रतिक्रिया दिइसक्नुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *