काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनिकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले क्यान्सर निवारणका लागि धेरै कामहरु गर्न बाँकी रहेको बताए । उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताए । पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्युनिकरण गर्दै लैजानुपर्ने बताए । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको जानकारी दिए ।
‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरु गर्न जरुरी छ । आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरु, मेरो दिदिहरु, मेरो समकक्षी साथीहरु थुप्रैको मृत्यु भएको छ । दिनमा ४ जनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ,’ उनले भने ।
मन्त्री पौडेलले काम गर्ने चाहना भएपनि आवश्यक श्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्युनिकरण गर्न सकिने उल्लेख गरे ।