जलवायुको असरले स्याउको गुणस्तरसँगै उत्पादन घट्दै

जोमसोम। मौसममा आएको परिवर्तनले स्याउको गुणस्तरसँगै उत्पादन घटेको छ। मुस्ताङमा स्याउखेती सुरु भएको आधा शताब्दी नाघिसकेको छ। यसअघि राम्रो उत्पादन हुने तल्लो मुस्ताङमा स्याउ फल्न छाडेको किसानको गुनासो छ।

टुकुचेमा स्याउ उत्पादन गर्दै आएका दीपक हिराचन २० वर्ष अगाडि र अहिलेको उत्पादनमा धेरै अन्तर देख्छन्। उनका अनुसार पछिल्लो समय स्याउ उत्पादनमा जलवायु परिवर्तनको असर नराम्ररी परेको छ। ‘२० वर्षअगाडि पानी एकदमै कम पर्ने मुस्ताङमा अहिले धेरै पानी पर्छ। पुरानो बिरुवा जरा कुहिने रोग किराको प्रकोपले उत्पादन घटेको छ। तल्लो मुस्ताङमा स्वादिलो स्याउ फल्ने ठाउँमा पानी बढी पर्नु भनेकै स्याउ खेतीलाई असर गर्नु हो,’ हिराचनले भने।

तल्लो मुस्ताङ कुवाङका विकल शेरचन स्याउमा रोग किराको आक्रमणले दिक्क बनाएको बताउँछन्। उनको अनुभवमा राम्रो स्याउ फल्ने ठाउँमा अहिले कम फल्ने गरेको छ। ‘नफल्ने होइन तर रोग किराले सताएको छ। केही वर्षअगाडि रहर लाग्दा स्याउका दाना हुन्थे अहिले रोग लाग्न थाल्यो। औषधि पनि छैन। अर्को कुरा बजारको पनि समस्या छ। आफंैले बेच्न सकिँदैन। बिचौलियाले मूल्य कम दिन्छन्’, शेरचनले भने।

स्याउमा किराको प्रकोपसँगै हिउँको चिस्यानले पुग्ने कृषिजन्य अन्य बालीनाली राम्रो हुन नसक्नु जलवायु परिवर्तनको नै भएको विज्ञको दाबी छ। मुस्ताङमा जलवायु परिवर्तनको असर सम्बन्धमा एक सानो अध्ययनले उक्त कुरा देखाएको त्रिभुवन विश्वविद्यालयका वनस्पतिशास्त्र केन्द्र विभागका उपप्राध्यापक अच्युत तिवारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *