काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत संसदमा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व हुँदै छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीको प्रतिनिधिसभामा प्रतिनिधित्व हुने भएको हो ।
यस्तै, पाँच जना स्वतन्त्र सांसद पनि प्रतिनिधिसभा सदस्यमा विजयी बनेका छन् । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्राप्त १ सय ६५ निर्वाचन क्षेत्रमा कांग्रेसले सबैभन्दा बढी ५७ क्षेत्रमा जित निकालेको छ । कांग्रेसले समानुपातिकतर्फ १ सय १० सिटमध्ये ३२ सिट पाउने देखिन्छ । दुवै प्रणालीतर्फ गरी कांग्रेसको प्रतिनिधिसभामा ८९ सिट हुनेछ । यसैगरी, नेकपा एमाले संसद्मा दोस्रो हैसियतमा रहने पक्कापक्की छ ।
एमालेले प्रत्यक्षतर्फ ४४ निर्वाचन क्षेत्रमा जित निकालेको छ भने समानुपातिक तर्फबाट ३४ सांसद पाउने पक्काजस्तै छ । यी सबै गरी एमालेको ७८ जना सांसद हुने अवस्था छ । यसैगरी, संसदमा तेस्रो दलको हैसियतमा नेकपा माओवादी केन्द्र रहनेछ । सो दलले प्रत्यक्षतर्फ १७ सिट जितेको छ भने समानुपातिकतर्फबाट १४ सिट पाउने अवस्था छ । सबैगरी माओवादी केन्द्रको प्रतिनिधिसभामा ३१ सांसद हुने देखिन्छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सांसद जितेको छ । तर, समानुपातिकमा सो दलको प्रतिनिधित्व हुने नहुने टुंगो छैन । उसले ३ प्रतिशत थ्रेस होल्ड पूरा नगरे समानुपातिकतर्फ सांसद नपाउन सक्छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाबाट सात÷सात जना प्रतिनिधिसभा सदस्य बनेका छन् । स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ १४ जना सांसद बन्ने देखिन्छ । यी सबै गरी स्वतन्त्र पार्टीबाट २१ जना प्रतिनिधिसभामा सांसद हुनेछन् । राप्रपाबाट सात जना समानुपातिकतर्फ सांसद बन्ने देखिन्छ ।
प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी राप्रपाले १४ जना सांसदको प्रतिनिधित्व गराउने पक्का जस्तै छ । यस्तै, जसपाले पनि समानुपातिकतर्फ पाँच जना सांसद पाउने देखिन्छ । प्रत्यक्ष र समानुपातिक गरी जसपाबाट १२ जनाको प्रतिनिधित्व हुनेछ ।
यस्तै, जनमत पार्टीले प्रत्यक्षमा १ सिट जितेको छ भने समानुपातिकमा थ्रेस होल्ड कटाएका कारण पाँच सिट पाउने देखिन्छ । यी सबैगरी सो पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद हुनेछन् भने सो दल राष्ट्रिय दलसमेत हुनेछ । लोसपाबाट चार जना प्रत्यक्ष निर्वाचित भइसकेका छन् ।
सो दलले अहिलेसम्म समानुपातिकतर्फबाट सांसद पाउने अवस्था छैन भने उसले थ्रेस होल्ड नपाउँदा राष्ट्रिय दलसमेत बन्ने अवस्था छैन । यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट तीन जना प्रत्यक्ष निर्वाचित भइसकेका छन् भने सो दलले पनि थ्रेस होल्डका लागि आवश्यक मत प्राप्त गर्न सकेको छैन ।