काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताउनुभएको छ ।
बिहीवार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताउनुभएको हो ।
उहाँले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तीव्रगतिमा कार्ययोजना अनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताउनुभयो ।
मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउनुभयो । अहिले अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको भन्दै मन्त्री चौधरीले स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको उल्लेख गर्नु भयो । अहिले सुरुङ मार्गमा रहेको पानी निकालेर सफाइ गर्ने कार्य मुहानमा ९० प्रतिशत सफाइको काम सकिएको मन्त्री चौधरीको भनाइ छ ।
त्यस्तै, हेल्मबु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने हेल्मबु गाउँपालिकाको पनि दायित्व रहेको बताउनुभयो । हेल्मबु गाउँपालिकाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने दायित्व पूरा गर्ने तर काठमाडौं वासीले शुल्क तिर पानी खाँदा हेल्मबुका जनतालाई २५ प्रतिशत हिंसा पाउनु पर्ने माग राख्नुभयो ।
त्यस्तै, मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले महानबाट टर्नेल सफा गर्न १७ नम्बर गेट खुल्ला गरेर काम अगाडि बढाएको बताउनु भयो । उहाँले अहिले मेलम्ची खानेपानीको मुहानको बाहिर काम सकिएको बताउनु भयो । टर्नेल भित्रभएको लदो माटो सफा गर्नको लागि सबै गेट खोल्ने तयारीमा रहेको कुँवरले जानकारी दिनु भयो । गेट खोलेर टर्नेल सफा गर्दै ७ दिनमा मेलम्चीको पानी सुन्दरीजल पुर्योउने योजना अनुसार काम भइरहेको कुँवरले बताउनुभयो ।
मेलम्चीमा गत असार १ गते आएको बाढीका कारण लेदो सुरुङभित्र पसेको थियाे । सुरुङमा पसेको लेदो हटाउन अझै दुई–तीन दिन लाग्ने भएको छ । १७ नम्बरको ढोका खोलिसकेकाले सुरुङ्मार्ग सफाइको काम अगाडि बढाएको छ । मेलम्चीमा १, ९, १७, ३८ र २१ गरेर पाँच वटा मुख्य गेट छन् । मुख्यतया पानी पठाउनका लागि आवश्यक पर्ने गेट ९, ३८ १७ र २१ नम्बरका हुन् । यीमध्ये ३८ नम्बर गेट खुलिसकेको छ ।
बाढीको कारण मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको संरचना २० देखि ३० फिटसम्म पुरिएको थियो । बाढीले हेडवक्र्स डाइभर्सन टनेल र अम्बाथान अडिट टनेल पनि गेग्रान भरिएको थियो तर पनि सरकारले हेडवक्र्सका गेग्रान हटाइ फास्ट–ट्रयाकमा सुरुङ सफा गरेर मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी गरेको छ ।