मणी गौतमका ३ गजल


गजल १

मैले पहिला पाइला टेकोको धर्ती सिमानासँग
मेरो रगतको नाता छ भूटानको दागानासँग

अधिकार माग्दा बन्दुक तेर्स्याउने निरङ्कुशहरू हो
कहिले हिसाब बुझाउँछौ बा लुटिएका स- सानासँग

रगत पोतिएका भित्ताहरू भयो मात्र भन्न सकेनन्
हर रात म तर्सिरहेछु रक्ताम्मे जेलखानासँग

मेरो साँचो देशप्रेममा शङ्का गरेपछि थाहा भयो
तिमी परिचित छैनौ इतिहासका पाना पानासँग

माटो बद्लिएसँगै जिन्दगीले चुनौती हार्दैछ
के गुनासो गरौँ परिचय भुल्दै गरेको जमानासँग !

गजल २

दुबै नारी पुरुष भाबनाको ईज्जत हुनुपर्छ
एक्लो रातमा के के गर्न सहमत हुनुपर्छ

बार बार कैदी बन्न तयार छ मन तिम्रो लागि
त्यो मुटुमा मुटुनै कैद गर्ने हिरासत हुनुपर्छ

परेको बेला केही सहयोग आएन, के बुझ्नुभयो
हजुरको कसैलाई मद्दत नगर्ने आदत हुनुपर्छ

जति नै लुकाए पनि ती ऑंखाले ढाँट्नै सकेनन्
मेरो पीडाले हजुरको मुटु मर्माहत हुनुपर्छ

अचम्म मर्नु अघि मलाई आगो दिएर मुस्कुरायो
मरे पछि उसलाई दागबत्तीको जरूरत हुनुपर्छ !

गजल ३

अगुल्टो जती ठोसे पनि आगो बल्नै सकेन
व्यापारीसँग मायासङ्ग साटेछ दिल चल्नै सकेन

निर्दोष भएर पनि तिम्रै लागि उ जेलसम्म गयो
प्रेम बिरूद्ध मुटुले कुनै प्रमाण खोतल्नै सकेन

ऊ माटो जस्तै थियो तिमी आएर पानी हालीदियौ
पैतालाको डोब बाहेक कुनै आकारमा ढल्नै सकेन

तिमीले पठाएको कोसेली जतन गरेर खायो
थियो जहर भरेको जान्दा जान्दै ओकल्नै सकेन

आगोको महत्व नजानि आगोसङ्ग नखेल्नु कोही
जलिसकेको खरानीले आफैलाई बदल्नै सकेन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us