कान्ति न्यौपाने ।
केही हप्ताअघि मेरो आफन्त पर्ने एकजना दाईले ८ औँ तहको सरकारी जागिर छोड्नुभयो भन्ने सुने । उमेरले पनि ५० पुग्न लागेका दाईले उमेर नै नपुगी किन जागिर छोड्नुभयो भनेर बुझ्दै जाँदा उहाँलाई डिभी परेको रहेछ । उहाँले भाउजुलाई परेको भनेपनि उहाँ आफैँले भरेर बाहिर जानलाग्नुभएको भनेर आफन्तहरु कुरा गर्दैथिए ।
एक हिसाबले हेर्ने हो भने, उहाँहरु काठमाडौंका सम्पन्न परिवार, अहिलेपनि प्रशस्त जग्गा जमिन भएको, घर, गाडी काम गर्ने मान्छे सबै थिए । तरपनि उहाँहरुले अमेरिका जाने निर्णय गरेर जागिर छोड्नुभयो । त्यसपछि देखि मलाई पनि कताकता नरमाईलो लाग्यो, कुनै समय देशभक्तिको गाना गाउने, विदेश बस्न जान नहुने तिनै दाईले आठ तहको सरकारी जागिर छोडेर गएभने कतै यो देश बस्न लायक नै छैन कि जस्तो पनि लाग्यो ।
अर्को चित्त दुखेको घटना हो – भुटानी शरणार्थीको । मानिस बरु शरणार्थी बनेर अमेरिका जान तयार छन् तर नेपाली भनेर नेपालमा बस्न तयार छैनन् । शरणार्थी प्रकरणमा अमेरिका पठाउन पैसालिनेलाई कारबाही गर्ने तर, देश, राष्ट्रियता छोडेर अमेरिका जान्छु भन्नेलाई देशमा किन बस्न दिने भन्ने पनि लागिरहन्छ । जसलाई बरु, शरणार्थी बन्न मन छ, तर नेपाली बन्न मन छैन भने नेपालमा बस्ने अधिकार पनि रहिरहन्छ र ? मनमा पटकपटक उब्जिएको प्रश्न हो ।
अहिले देशमा रोजगारी र अवशर नहुँदा बाध्यता र रहरले मानिस अमेरिका जान चाहान्छ । खाडी जान चाहान्छ, बाहिर मात्रै अवशर देख्छ अनि नेपालका नेतृत्व गर्नेहरु पनि सामानको होईन, उत्पादनको होईन, मानिसकै निर्यात गर्न चाहान्छन् । हामीले यतिलाई फ्रि भिजा फ्रि टिकटमा विदेश पठायौँ भन्दै गर्व गर्छन् । अनि विदेशबाट आएको रेमिट्यान्सले देश चलाएर भ्रष्टाचारको भुमरीमा देशलाई फसाउँछन् ।
अर्को ताजा उदाहरण पनि मैले अनुभूति गरेको छु । मेरो छिमेकमा बस्ने बहिनीले भर्खरै नर्सिङ्ग सक्याउँदै थिईन् । बुझ्दै जाँदा उनले अमेरिकामा बस्ने ग्रिनकार्ड होल्डर केटो भेटिछिन् । उमेरको अन्तर १० वर्ष बढी अनि कतिले त पहिलाको बिहे बिग्रिएको भनेर कुरा समेत काट्दैँ थिए । तर, त्यसमा न बहिनीलाई दुख लागेको थियो न परिवारलाई । अमेरिकामा बस्ने केटो हो सकियो, उमेर, र दोश्रोे बिहेसँग के सरोकार जस्तो पो गर्ने ? अनि मलाई फेरिपनि लाग्यो यो देश कसलाई चाहिएको छ त आखिर ?
एकदिन कोटेश्वरबाट पुतलीसडकसम्म बसमा जाँदै थिएँ । सायद ११÷१२ पढ्ने विद्यार्थी थिए । उनीहरु एकआपसमा कुरा गर्दै थिए, राष्ट्रियताकै विषयमा । त्यहीँबीचमा एउटा केटाले भन्यो बरु, नेपाल भारतलाई दिए हुन्छ, अनि अर्कोले भन्यो चाईना शक्तिशाली भइसक्यो चाईनाले लगेपनि हुने बरु । कम्तीमा हामीले सुविधा त बढी पाउँथ्यौँ । जे मा पनि लाग्ने महंगो कर त छुट हुन्थ्यो, भारतीय नागरिक भनेर जुनसुकै देशमा सजिलै जान पाइन्थ्यो । नेपाली भएरै मात्र पनि हुने के होर? यो कुराले भने साँच्चै मन छोयो । साँच्चै भुगोल मात्रै भएर के गर्नु, जताततै अस्तब्यस्त छ, महंगी छ, भष्टाचार र विकृति छ । भएका युवाहरु देश छोडेर जान चाहान्छन्, सबै देश बन्दैन, नेपालमा बसेर काम छैन भन्ने भएपछि फेरि पनि लाग्यो यो देश पावर हुनेहरुलाई मात्र भागबण्डा लगाएर खान चाहिएको हो ? देशले केही दिदैँन भने देशलाई पनि हामी किन दिने भन्ने प्रश्न पनि खडा हुन्छ ।
हुनपनि, देशमा आर्थिक संकट झनै निम्तँदै गएको छ । यो व्यवस्था, त्यो व्यवस्था, यो व्यक्ति वा त्यो व्यक्तिले देशमा सुधार गर्छ भन्दाभन्दै एउटा युग बित्न लागिसक्यो । तर, अवस्था उहीँ छ । क्षमतावानले रोजगारी खोज्न जाँदा पाउँदैन, अयोग्यले पावरको भरमा सहजै जागिर खान्छ । तसर्थ, पनि विदेशमा १८ घण्टा काम गर्नुपरेपनि त्यहाँको सरकारले दिने अभिभाकत्वलाई सम्झेर मानिसहरु बढी आकर्षित हुन्छ । बिरामी हु्ँदा अस्पताल निशुल्क छ, पढ्नेलाई शिक्षा निशुल्क छ । रोजगारी भन्ने वित्तिकै पाइन्छ । अनि पो नागरिक कर तिर्दा पनि खुसी हुन्छन् । तर, नेपालमा नेतृत्व गर्नेहरुले सकेसम्म कर लिने तर नागरिकप्रति कुनै पनि दायित्व बहन नगर्ने प्रणालीको विकास गरेका छन् । देश बनाउन नेतृत्व तहमा एउटा दृढ सङ्कल्प चाहिन्छ, प्रचुर सपना र आस्था चाहिन्छ तर, यहाँ भाषणको खेती गर्नेहरुको मात्रै बाहुल्यता देखिन्छ ।
नेपालसँग जोडिएका दुई छिमेकी मुलुक चीन र भारत विश्वका शक्तिशाली र उदयीमान मुलुक बनिसके । कोरियाले २०/२५ वर्षको अन्तरालमै ठूलो प्रगति गर्यो । अमेरिका, युरोप, क्यानाडा र अष्ट्रेलिया कसरी बनेँ ? त्यसबाट नेपालले सिकेको खोई त ? तर, परिवर्तनका लागि पटकपटक व्यवस्था र नेतृत्व परिवर्तन गरेको नेपालले जनअपेक्षा अनुसारका केही काम गर्न सकेन । कृषकले पैसा तिरेर मल किन्छु भन्दा समयमा आउँदैन अनि कृषकलाई छुट्टयाएको अनुदान पनि बिचौलयाले खाएर किसान थप मारमा पर्छ । अर्कोतिर नेपालीले उब्जाएको उत्पादन भन्दा भारतीयले उत्पादन गरेको तरकारी बढी बिक्छ । अनि, गर्न खोज्ने किसान दिक्दार भएर कि विदेश जान्छ कि व्यवसाय छोड्छ । अनि किसानले तरकारी सडकमा फ्यालेर आन्दोलन सुरु गर्छ । तर, नेताहरुले समाजवाद ल्याउने भाषण भने दिनहुँ गर्न छाँड्दैनन् ।
नेपालको समकालीन राजनीतिमा भएका जुनसुकै दलका जुनसुकै नेतालाई पनि जनताले पत्याउने अवस्था छैन । जसका कारण पार्टी खोलेको ६ महिनामै रवि लामिछाने पुराना दललाई टक्कर दिएर उदाए । अब, आउने चुनावमा पनि नेतृत्वको हविगत भागबण्डामै केन्द्रित रहे पूराना दलले थप खुम्चिनुपर्ने निश्चित छ ।
अर्को विषय भनेको विकास निर्माणतर्फको हो । समयमा कहिलेपनि काम नहुने, वर्षेनी हुने असारे विकासले काम गुणस्तरीय नहुने जथाभावी बजेट सकिने क्रम रोकिएको छैन । बनेका कतिपय पूलहरु वर्षोदेखि सञ्चालनमा आउन सकेका छैनन् भने कतिपय ठेक्का लागेको वर्षोबित्दा समेत आधी काम भएको छैन । आधुनिक विकास र प्रविधिको युग सुरु हुँदा समेत नेपालमा कतिपय ठाउँमा बिजुली र बाटो पूग्न सकेको छैन । इन्टरनेट त परको कुरा । भौगोलिक बनावटले भएका बस्ती पनि कतिपय उच्च जोखिममा छन् ।
अर्कोतिर गाउँगाउँमा सिंहदरबार बनाउने भनेर स्थापित भएका स्थानीय तहको भ्रष्टाचार र बेरुजु बर्षेनी बढ्ँदो छ । विश्वमा कति पछि विकसित भएका देशहरु ठूला देशहरुसँग उत्पादनका हिसाबले प्रतिस्पर्धा गर्ने भइसके । तर हामी भने नुनदेखि सुनसम्म अरुमा आत्मनिर्भर भएर राष्ट्रियताका गफ लगाउँछौँ । विभिन्न विदेशी मुलुकलाई सत्तोसराप गर्छो । जबकि हामी वस्तुको उत्पादन भन्दा बढी मान्छे र जनशक्ति निर्यात गर्ने मुलुक बनिसकेका छौँ ।
तर, नेतृत्वलाई मात्रै पूर्ण दोष लगाएर नेपाल छोड्नेहरुको पनि नेपालप्रतिको दायित्व भने छ । अरुले केही गरेनन्, योगदान रहेन भनिरहँदा जन्मेको माटो, हुर्केको गाउँ र समाजप्रतिको दायित्व मैले कति पूरा गरेर भनेर पनि हेर्नु जरुरी छ । नेपाल बनेन, बन्दैन र विदेशनै जानुपर्छ भन्ने विषय अन्तिम सत्य पनि होईन । तर, यसलाई चिरेर समृद्ध नेपाल बनाउने अभिभारा बोकेका अधिकाशं युवा विदेश पलायन हुने सोँचमै छन् ।
यसरी लाखौँ युवा वाहिरिएपछि छिमेकी मुलुकबाट जनशक्ति ल्याएर देश चलाउनुपर्ने त होईन भन्ने विषय पनि उठिरहेको छ । तर, अचम्म लाग्ने विषय त के भने देश बनाउन भनेर गएकाहरुलाई नै देश बनाउनुछैन । मिलेर फाईदा लुट्ने अनि नसके विदेश पलायन हुने प्रवृत्ति बढेको छ । उनीहरुकै छोराछोरी विदेशका महंगो स्कुलमा पढेका छन्, बाहिर नै बसिरहेका छन् । अनि, अब भन्नुस्, आखिर यो देश चाहिएको कसलाई छ ?