काठमाडौँदेखि विदेशसम्म ‘चरन’को खसी खुवाउँदै २५ बर्से पूर्ण

एसएलसी दिएलगत्तै मासुको व्यापार, महिनाकै डेढ लाख कमाइ

काठमाडौँ ।

भेजिटेरियनको कुरा छाड्ने हो भने नेपालमा मासु भन्नासाथ पहिले खसीकै मासु सम्झिने धेरै छन् । मासुका पारखीहरू खसीको मासु भन्नासाथ जहाँ जसरी पनि पुग्ने र खाने गर्छन् । पछिल्लो समयमा विभिन्न जातका ‘विकासे’ बोका तथा खसीको उपलब्धता बढेसँगै चरनमा हुर्किएका ‘लोकल’ खसी खोजिहिँड्नेको संख्या अधिक छ ।

तराई तथा सघन सहरी क्षेत्रमा सहजै नपाइने पहाडी क्षेत्रका स्थानीय रैथाने जातका र जंगल चरेर हुर्किएका खसीबोकाको मासु खान मन कसलाई मन नलाग्ला र !

यिनै मासुका पारखीहरूको माग पूरा गरिरहेका छन् इमाडोलमा ‘उदयपुरे मासु पसल’ चलाइरहेका पूर्ण श्रेष्ठ । उदयपुरको कटारीका उनी सहरियाहरूलाई गाउँले खसी खुवाउन लागिपरेका छन् । विभिन्न पहाडी जिल्लाबाट लोकल खसी ल्याएर काठमाडौँबासीलाई ताजा मासु खुवाइरहेका श्रेष्ठका ग्राहक काठमाडौँबासी मात्र होइन, विदेशमा बस्नेहरू पनि त्यत्तिकै छन् ।

पूर्णले बेच्ने गरेको मासुको ‘क्वालिटी’का कारण उनले दिनमा कम्तीमा १५० किलो मासु बेच्छन् । त्यसका लागि उनले दिनहुँ ४–५ वटा खसी काट्छन् । उनको पसल सोध्दै र खोज्दै आउने ग्राहक उत्तिकै छन् । एक पटक यहाँबाट लगेर मासु खानेहरू त्यसयता निरन्तर ग्राहक भएको उनी बताउँछन् ।

‘हामीले मासुको गुणस्तर, खसीको जात ढाँटेर, बासी मासु बेच्नेजस्ता कुनै काम गर्दैनौँ,’ पूर्ण भन्छन्, ‘हामी मासुको क्वालिटीमा कहिल्यै सम्झौता गर्दैनौँ । त्यसकारण पनि हाम्रा ग्राहक खुसी हुनुहुन्छ ।’

पूर्णको मासु पसलमा बैतडी, बझाङ, सिन्धुपाल्चोक, उदयपुरलगायत जिल्लाहरूबाट खसी ल्याइन्छ । पहाडका जंगल र खर्कमा चरेका खसी आउने भएकाले उनको पसलले विश्वास कमाएको उनी बताउँछन् । ‘हामीले ल्याउने खसीहरू जंगलमा जडीबुटी खाएर हुर्किएका हुन्छन् । दाना खुवाएर बाँधेर पालेका खसी हामी बेच्दैनौँ,’ उनले भने, ‘हाम्रो पसलको विशेषता भनेकै पहाडको खसी हो ।’

‘हाम्रो पसलमा आउने ग्राहकले खसी काट्दै गरेको देखिन्छ । हामीले खसी काट्दा सरसफाइदेखि हरेक कुरा ग्राहककै अगाडि गर्छौँ । ग्राहकलाई पनि उहाँहरूकै आँखाअगाडि मासु तयार गर्दा विश्वास हुने भएकाले हामी त्यसैअनुसार गर्छौं । तर बालबालिकालाई भने खसी काटेको र मासु तयार गरेको देखाउँदैनौँ,’ उनले अगाडि भने ।

कतिपय मासुका व्यापारीले खसी भनेर बाख्राको मासु बेचेको सुन्दा पूर्णलाई नरमाइलो लग्छ । त्यस्ता व्यापारीले गर्दा इमानदार व्यापारीहरूसमेत बदनाम भएको उनी दुखेसो गर्छन् । २५ वर्षका पूर्णको मासु पसलको नाम आफ्नै जिल्लाको नाममा छ । तर, यो उनको मात्रै पसलको नाम भने होइन । उदयपुरे मासु पसल भ्यालीमा १६ ठाउँमा छन् । ती सबै पसलका अलग–अलग सञ्चालक छन् । तर, उनीहरूले एउटा ब्रान्डका रूपमा स्थापित गर्न मिलेर उदयपुरे मासु पसलका नाममा पसल सञ्चालन गरेका हुन् ।

आफ्नो पसलमा ५ जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिइरहेका पूर्णले सबै खर्च कटाएर मासिक सरदर डेढ लाख रुपैयाँ कमाउने गरेका छन् । नेपालमै बसेर आफ्नो परिवारको साथमा डेढ लाख रुपैयाँ कमाइ हुँदा पूर्ण खुसी छन् ।

मासु दैनिक रूपमा उपभोग हुने भएकाले यो व्यवसायको भविष्य राम्रोसँग बुझेका पूर्णले बुबाआमाबाट नै मासु व्यापार सिकेका हुन् । उनका बुबा काठमाडौँका पुराना मासु व्यापारी भएकाले पनि उनले खसी काट्नेदेखि भुत्ल्याउने र बेच्नेसम्मका काम १३ वर्षको उमेरमै सिकिसकेका थिए । त्यो सिकाइलाई व्यावसायिक बनाउन उनले एसएलसी दिनासाथ एक जना साथीसँग मिलेर मासु पसल खोले ।

‘मैले चाहेको भए अन्य पेसा पनि गर्ने सक्थेँ,’ उनी भन्छन्, ‘तर, मैले जानेको पेसामा नेपालमै भविष्य छ भन्ने लाग्यो । अहिले ठिकै पनि भइरहेको छ ।’

पूर्णले सीधै किसानबाट खसी किनेर ल्याउँदैनन् । उनको मासु पसलसम्म खसी ल्याइदिने व्यापारीहरू छन् । खसी ल्याउँदा व्यापारीले गाउँबाट लोकल कुखुरा पनि ल्याइदिने गरेका छन् । तर, त्यो सीमित ग्राहकले मात्र पाउँछन् । ‘काठमाडौँमा दाना खुवाएर पालिएका लोकल कुखुराचाहिँ जतिबेला पनि पाइन्छ । तर खाँटी लोकल कुखुराचाहिँ बेलाबेला मात्र आउँछ,’ उनी भन्छन्, ‘त्यो भएर सीमित ग्राहकलाई मात्र दिने गरेका छौँ ।’

सुकुटीको बजार विदेश

पूर्णले नेपालमा मात्र होइन, विदेशमा पनि आफ्नो पसलमा तयार भएको खसीको मासु बेच्ने गरेका छन् । आलो मासु बेचिरहेका पूर्णले आफ्नो व्यवसायमा केही नयाँ गर्ने उद्देश्यले खसीको सुकुटी पनि बेच्ने सोच बनाए । त्यही उद्देश्यअनुसार उनले अहिले खसीको सुकुटी बनाएर विदेशमा बेच्दै आएका छन् ।

‘हामीले एक दिनमा सुकुटी तयार पार्छौँ,’ उनी भन्छन्, ‘त्यो नेपालमा पनि केही बिक्री हुन्छ । तर धेरैजसो विदेशमा बस्ने नेपालीहरूले नै मगाउने गर्नुभएको छ ।’

आफूले उत्पादन गरेको खसीको सुकुटीको ७० प्रतिशत जति युके र हङकङमा बिक्री हुने गरेको पूर्ण बताउँछन् । पूर्णको पसलमा सुकुटी किन्ने नेपालका ग्राहक प्रायः चितवन र झापाका बढी छन् । विदेशतिर सुकुटी बेच्दा दाम नभए पनि नाम बन्छ कि ! भन्नेर बेचेको पूर्ण बताउँछन् । ‘मेरो पसलको मासु ‘विदेशको त्यो ठाउँमा गएको’ भन्दा मलाई पनि खुसी लाग्छ,’ उनी भन्छन्, ‘त्यसले मलाई व्यवसायमा थप हौसला पनि दिन्छ ।’

१ किलो सुकुटी बेच्दा सरदर २०० रुपैयाँ नाफा हुने पूर्ण बताउँछन् । ३ किलोजति आलो मासुको १ किलो सुकुटी बन्ने पूर्ण बताउँछन् । पूर्णले १ किलो सुकुटी ४५ सय रुपैयाँमा दिने गरेका छन् । ‘अहिले बजारमा मासुको मूल्य १३ सय ५० रुपैयाँ छ,’ पूर्ण भन्छन्, ‘यस हिसाबले ४१ सय रुपैयाँ मासुकै पर्छ, सुकाउन लाग्ने दाउरा, स्टाफ खर्च आदि गरेर भन्ने हो भने किलोको त्यही २ सय रुपैयाँजति मार्जिन बस्छ ।’

सुकुटी अरू देशमा बेच्दा सुरुसुरुमा ग्राहकको मागअनुसार पुर्‍याउन नसकिएको उनी बताउँछन् । अहिले उत्पादन बढाएर माग धान्ने त बनाएका छन्, तर निर्यातमा भएको कडाइले उनलाई थप समस्या भएको छ । ‘विदेशमा नेपालको सुकुटीको यति धेरै माग छ कि हामीले मागअनुसार पुर्‍याउन पनि सक्दैनौँ,’ उनले भने, ‘तर, अहिले एअरपोर्टबाट पठाउन एकदमै गाह्रो छ ।’

कुनै देशमा पठाउन सो देशकै कानुनी अड्चनले रोकेको र कुनै देशमा नेपालबाटै पठाउन कानुनी अड्चन भएको पूर्णको भनाई छ । ‘अस्ट्रेलियाबाहेक अन्य देशमा लगेजमा हालेर सुकुटी लान मिल्छ,’ उनले भने, ‘तर, कुरियर गरेर अन्य देशमा पठाउन धेरै गाह्रो छ ।’

सुकुटी निर्यातको विषयमा सरकारी पक्षले नै दुःख दिएको पूर्णको बुझाइ छ । ‘एअरपोर्टको नेतृत्व (डिजी) चेन्ज भइरहने भएकाले पनि समस्या भएको छ,’ पूर्ण भन्छन्, ‘डिजी चेन्ज हुँदा कुरियर कम्पनीले पनि सुकुटी लान मान्दैनन् ।’

पछिल्लो समय नेपालको एअरपोर्टबाट सुन तस्करीका घटना बढेकाले कडाइ गर्दा पनि मासु र सुकुटी निर्यातमा समस्या भएको पूर्णको अनुभव छ । त्यस्ता काण्डहरूले गर्दा आफूहरूको व्यापारमा समेत असर गरेको पूर्णको भोगाइ छ । ‘अब नेपालमा के–के काण्ड भइरहन्छन् । एअरपोर्टमा टाइट गर्दिन्छ अनि हामीलाई समेत समस्या परेको छ,’ उनी भन्छन्, ‘केही चिज पठाउनै गाह्रो हुन्छ ।’

के कारणले सुकुटी पठाउन नसकिएको हो त्यो अहिलेसम्म पूर्णले बुझ्न सकेका छैनन् । एअरपोर्टमा गएर निर्यातको विषयमा बुझ्दा पनि बुझ्न नसकेको पूर्णको अनुभव छ । ‘नेपाली प्रोडक्ट निर्यात गर्न एकदमै गाह्रो छ,’ पूर्णले भने, ‘मैले पनि अन्य देशमा पठाउन बुझ्दा बुझ्दा हैरान भइसकेँ ।’

आफूहरूले विदेशमा भएका व्यापारीलाई भन्दा पनि सीधै ग्राहकलाई नै बेच्ने भएकाले पनि उनीहरूले अर्डरअनुसार मात्र सुकुटी पठाउने गरेको उनी बताउँछन् । त्यसले गर्दा उनीहरूको दैनिक जस्तो सुकुटी निर्यात पनि हुँदैन ।

‘हामीले केही निर्यात गर्न खोज्दा पनि यता एअरपोर्टमा के के नीति नियम आइबस्छ,’ उनी भन्छन्, ‘हामी सानोतिनो व्यवसाय गर्नेलाई थाहै हुँदैन त्यो कुरा ।’

किन निर्यात हुन नसकेको हो भनेर बुझ्दा विमानस्थल भन्सारले कहिले के त कहिले के भन्ने गरेको उनको गुनासो छ । आफूले गरेको उत्पादन सहज तरिकाले निर्यात गर्न पाएमा व्यवसाय बढ्ने र देशलाई पनि योगदान हुने पूर्ण बताउँछन् ।

यत्तिको कठिनाइ हुँदा पनि पूर्णले युके र हङकङमा भने दसैँ लक्षित गरेर सुकुटी तयार पारेका छन् । ‘हामीले दसैँका लागि भनेर हङकङ र युकेका लागि अफर पनि ल्याएका छौँ,’ उनले भने, ती देशहरूमा निर्यात गर्न पनि केही हदसम्म सहज पनि छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us