स्याउ खेतीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोग

संसारमा यस्ता धेरै उदाहरण छन्, जो आफ्नो अध्ययन क्षेत्र वा कम्फर्ट जोनबाट अलग भएर पनि अन्य क्षेत्रमा स्थापित भएका। उद्हारणहरु थुप्रै छन् । अझ नेपालको हकमा भन्ने हो भने पढाई र पेसा धेरैको मिल्दैन । आवश्यकता र अध्ययनको तालमेल नभएपनि कुनै न कुनै पेसामा आवद्ध हुनै पर्ने अवस्था हुन्छ । यसैको एउटा ज्वलन्त उद्हारण हुन, अनिता खड्का रोकाय ।
पढाई सकेर हेल्थ असिष्टेन्ट (अहेब)को रुपमा उनले ३ वर्ष स्थानिय अस्पतालमा जागिर खाइन । तर, उनलाई जागिरमा भन्दा प्यारो आफ्नै पतीको पूर्खेउली पेसा कृषिले विस्तारै आकर्षित पार्यो । र, अहिले उनी पूर्णकालिन कृषि पेसामा रमाइरहेकी छन् ।
उनी अहिले मुगुको छायानाथ रारा नगरपालिका वडा नं. ५ ताल्चास्थित ३ हेक्टर क्षेत्रफलमा फैलिएको स्याउँ फार्मलाई व्यवसायिक रुप दिदै छिन् । ससुराले केहि दशक पहिले रोपेको स्याउँ फार्मलाई व्यावसायिक रुपमा अगाडि लैजान रोकाय परिवारले स्याउँ फार्मको नाम ताल्चा एग्रो राखे । यस फार्ममा पाँच सय पचास वटा स्याउको बोट रोपिएको छ । ति सवै बोटमा अहिले राम्रैसंग स्याउँ फलिरहेको छ । भने, दुई सय पचास वटा साना विरुवा हुर्किदै छन् ।

रोकाय परिवारले गरेको पारिवारिक फार्ममा वार्षिक दुई मेट्रिक टन स्याउ उत्पादन हुन्छ । जसको बजार मूल्य धेरै भएपनि उनीहरुले विक्री गर्ने होलसेल मूल्य लगभग १२, १३ लाखको हुन्छ । फार्म विस्तर र कामदारको पारिश्रमिक लगायतको सवै खर्च कटाएर पनि उनीहरुले वार्षिक पाँच लाख भने चोखो बचत गर्छन । आगामी केही महिनापछि स्याउको क्षेत्र बिस्तार गर्ने योजना रहेको अनिताले हलोखबरलाई बताईन । उनी भन्छिन, ‘यही माघबाट नै फार्म विस्तारको काम सुरु हुन्छ ।’
अहेब पढेकी अनिताले बिबाहपछि श्रीमानहरुले गर्दै आएको पूर्खेउली पेसा स्याउ खेती रोजिन् । उनका ससुराले वर्षौदेखि स्याउ खेती गर्दै आएका थिए । तर स्याउ खेती उतिसारो फस्टाएको थिएन । त्यो देखेर उनले खाइपाई आएको जागिर छाडेर कृषि पेसामा भविष्य खोज्ने निधो गरिन् । र, उनलाई स्याउ खेतीले स्वास्थ्यकर्मीबाट कृषिकर्मी बनायो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (पिएमएएमपी) अन्र्तगत पर्ने सिमि तथा स्याउ जोनले गरेको विभिन्न खाले सहयोगले अनिता र उनको परिवारलाई थप हौसला थप्यो । सो परियोजनाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा ५० प्रतिशत अनुदानमा स्याउ प्याकिङका लागि कार्टुन प्रदान गर्दै आएको छ । उनले सो अनुदानबाट ३ हजार वटा कार्टुन पाइन् । पछिल्लो ३ वर्षमा ताल्चा फार्मले ३ हजार ५ सय स्याउ प्याकिङ गर्ने कार्टुन अनुदानमा लिईसकेको छ ।
स्याउको सिजनको समयमा विरुवा कलमीको काम होस् या स्याउ टिप्ने बेलाको काम, घरको मान्छेले नभ्याएपछि उनीहरुले कामदार बोलाउने गरेका छन् । ‘अहिले स्याउको उत्पादन पनि राम्रो भएको छ,’ अनिताले हलोखबरलाई भनिन्, ‘स्याउ टिप्ने सिजन भदौदेखि असोज र कलमी गर्ने माघ, फगुनमा वर्षको दुई महिना दैनिक ५ जना कामदार बोलाउँने गर्छौँ, तर अरुबेला भने सबै काम परिवार मिलेर गर्छौ ।’
यस्तै, आर्थिक वर्ष २०७९/८० मा साढे एक हेक्टर क्षेत्रफल विस्तारका लागि पिएमएएमपीबाट रोकाय परिवारले एक लाख रुपैयाँ अनुदान पाए । सोही आर्थिक वर्षमा उनीहरुले ५० प्रतिशत अनुदानमा स्याउ काट्ने औजारहरु पाए । अनुदान सेवा पाउदा उनीहरु दंग छन् । ‘सरकारी तवरबाट केही गर्छु भन्नेलाई साथ र सहयोग भयो भने काम गर्ने जोस तथा हौसला बढ्ने रहेछ ।’ उनी भन्छिन् ।

सुरुसुरुमा कृषिको काम गर्न निक्कै गाह्रो भएपनि हाल भने उनलाई स्याउ खेतीमा काम गर्न बानी परिसकेको छ । सुरुवाती चरणमा कृषि कार्य गर्न केही असहज भइपनि हाल उनी सजिलो भएको बताउँछिन । स्याउ खेतीमा अनिताको ससुरा लगायत घर परिवारको राम्रो सहयोग छ । झण्डै बीस वर्ष अगाडि आफैले खानका लागि सुरु गरिएको स्याउ खेतीले यतिबेला व्यवसायको बाटो पक्रिएको छ ।
उनी विवाह गरेर आएदेखि स्याउ खेतीलाई व्यवसायिक रुपमा अगाडि बढाइरहकी छन् । ‘मैले व्यावसायिक रुपमा स्याउखेती गरेको ५ वर्ष भयो,’ उनले भनिन्, ‘मेरो सासु, ससुरा र म मिलेर वर्षभर नै स्याउको हेरचाह र गोडमेल गछौँ, सिजनमा कमदार लगाउँछौ ।’
स्याउको सिजनको समयमा विरुवा कलमीको काम होस् या स्याउ टिप्ने बेलाको काम, घरको मान्छेले नभ्याएपछि उनीहरुले कामदार बोलाउने गरेका छन् । ‘अहिले स्याउको उत्पादन पनि राम्रो भएको छ,’ अनिताले हलोखबरलाई भनिन्, ‘स्याउ टिप्ने सिजन भदौदेखि असोज र कलमी गर्ने माघ, फगुनमा वर्षको दुई महिना दैनिक ५ जना कामदार बोलाउँने गर्छौँ, तर अरुबेला भने सबै काम परिवार मिलेर गर्छौ ।’
नेपालमा स्याउको व्यवसाय सुरु गर्दा प्यापार खासै नभएको अनिताको अनुभव छ । ‘पहिले स्याउको बजार खासै थिएन, तर अहिले राम्रो बजार पाएका छौँ ।’ उनीले भनिन् । उनका अनुसार पहिले ए ग्रेडको स्याउ ५० देखि ६० रुपैयाँ प्रति कलो बिक्री गर्नु परेकोमा अहिले ८० देखि ९० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । यस्तै, बि ग्रेड तथा सि ग्रेडको स्याउ पनि ५० देखि ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको उनले सुनाइन् ।

फर्ममा धेरै स्याउ उत्पादन हुने भएकाले स्थानीय बजारमा खासै राम्रो मूल्य नपाएपछि ताल्चा फार्मबाट उत्पादित स्याउको विशेष बजार नेपालगञ्ज र सुर्खेत बनेको छ । सिजनमा स्याउ बिक्री भएन भने पनि सरकारले शितभण्डार बनाई दिएको उनले बताइन् । ‘सिजनमा धेरै स्याउ उत्पादन भएमा शितभण्डरणमा राख्छौँ,’ उनले भनिन्, ‘स्याउ ६ महिनासम्म भण्डारण गर्न मिल्छ, बजारमा स्याउको माग अनुसार पठाउँछौँ ।’
अनिताले स्याउ व्यवासाय फस्टाउनुको श्रेय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत स्याउ जोनलाई दिन्छिन् । उनी भन्छिन्, ‘सुरुमा स्याउ जोनले विरुवा दियो र हामीलाई मल किन्न, खाल्डो खन्न हौसला प्रदान गर्याे ।,’ उनले भनिन्, ‘त्यसपछि स्याउ खेती कसरी गर्ने भनेर केही तालिम दियो, स्याउ खेती गर्दा आइपर्ने सम्पुर्ण रोग तथा हेरचाहको बारेमा ज्ञान दियो र हामीले सोही अनुसार स्याउ खेती व्यवस्थापन गर्दै आएका छौँ ।’
पछिल्लो समय स्वदेशमा गरिखाने वातावरण नभएको भन्दै विदेशिनु भन्दा स्वदेशमै कृषि गर्न उनी सुझाव दिन्छिन् । ‘संसारमा जहाँ गएपनि आफूले पसिना नै बगाउँने हो, दुःख नै गर्ने हो,’ उनी भन्छिन्, ‘आफ्नो देशमा त बरु केही गर्छु भन्दा, केही न केही, कोही न कोहीबाट सहयोग पाइनै हाल्छ तर विदेशमा त्यस्तो हुदैन, त्यसकारण पनि मलाई विदेश जाने रहर कहिले लागेन ।’
पहिलेको र अहिलेको कृषि प्रणालीमा धेरै नै अन्तर आएको उनी बताउँछिन । अहिलेको अत्याधुनिक प्रविधिले कृषि कार्यलाई धेरै नै सहज बनाएको छ । ‘कुनै पनि स्याउको बोटमा रोग तथा किराहरु भेटियो भने सुरुमा घरेलु उपायहरुबाट समाधान गर्न खोज्छौँ तर त्यसबाट समाधान निस्किएन भने धनगढी लगेर विशेषज्ञहरुलाई देखाउँछौँ,’ उनले भनिन्, ‘सोही अनुसार व्यवास्थापन गर्छौँ।’ ‘धेरै फाइदा त छैन तर समग्रमा राम्रो छ, अझै विस्तार गर्दैछौँ,’ उनी भन्छिन्, ‘अहिले कमदार खर्च, सामान खर्च तथा ढुवानी खर्च सबै कटाए पनि वर्षिक ५ लाख भन्दा बढी नै फाइदा हुन्छ ।’

स्वास्थ्य क्षेत्रको जागिर छाडेकोमा अहिले अनितालाई कुनै पछुतो छैन । आफूले फलाएको कुरा अरुलाई खुवाउनु पाउँदा र पुर्खाको व्यावसायलाई सम्हाल्न पाउँदा उनी दंग छिन् । जागिर खाँदा आफ्नो सृजनशीलता देखाउन नपाएको तर अहिले आफ्नै व्यावसाय गर्दा भने आफूभित्र रहेको योजनालाई मूर्तरुप दिन पाएकाले पनि उनी खुसी देखिन्छिन् ।
पछिल्लो समय स्वदेशमा गरिखाने वातावरण नभएको भन्दै विदेशिनु भन्दा स्वदेशमै कृषि गर्न उनी सुझाव दिन्छिन् । ‘संसारमा जहाँ गएपनि आफूले पसिना नै बगाउँने हो, दुःख नै गर्ने हो,’ उनी भन्छिन्, ‘आफ्नो देशमा त बरु केही गर्छु भन्दा, केही न केही, कोही न कोहीबाट सहयोग पाइनै हाल्छ तर विदेशमा त्यस्तो हुदैन, त्यसकारण पनि मलाई विदेश जाने रहर कहिले लागेन ।’

अहिले उनको फार्ममा सिंचाइका लागि एउटा टंयाकी मात्रै छ । सो टंयाकीबाट ३ हेक्टर जमिनमा सिंचाइ गर्न निकै नै गाह्रो भएको उनले दुःखेसो पोखिन । एक हेक्टर क्षेत्रफल बाराबर एक सिंचाई टंयाकी बनाउँनलाई सरकारसँग सहयोगको अपेक्षा गरेकी छन् ।
स्रोत: हलोखबर