भारतबाट कमाएर ल्याएको पाँच लाखले सुरु गरेको बाख्रा पालन व्यवसायबाट सन्तुष्ट छन् कृष्ण तिमिल्सिना

काठमाडौँ, २५ पुस । पश्चिम तराईका अधिकांश मानिसहरुको रोजिरोटी चल्ने भनेकै भारतीय बजराको मजदुरी कर्मले हो । अछाम जिल्ला पञ्चदेवल नगरपालिका वडा नम्बर १ का कृष्ण तिमिल्सिना रोजगारीको सिलसिलामा तीन वर्ष भारततिर भासिए । भारतीय बजारमा उनले श्रम गरेर जसोतसो घरखर्च चल्न पुग्नेगरि मात्रै कमाउन सकेका थिए ।
विदेशमा कमाएको पैसा स्वदेशमै लगानी गर्ने सोचका साथ उनी नेपाल फर्किए । घर त फर्किए तर कुन व्यावसाय, कस्तो व्यवसायमा लाग्ने भन्ने कुरामा सोच्न थाले । त्यसपछि उनको घरका सदस्यले पालेका ५ देखि ७ वटा बाख्रामा आँखा गयो र त्यसैलाई नै व्यावसायीकरण गर्ने अठोट गरे ।
सुरुमा उनले आफ्नै लगानीमा ‘गिद्धेलक्ष्मी कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर, बाख्रा पालन सुरु गरे । आफूले विदशेमा कमाएको ५ लाख र नजिकैको सहकारीबाट २ लाख ऋण दिएर ७ लाखको लगानीमा १५ वाटा बाख्रा किनेर ल्याए । त्यसैलाई फूल टाइमर पेसा बनाउने अठोट गरे । ‘पहिला मैले बोइलर कुखुरा पनि पालेको थिएँ,’ उनले भने, ‘त्यो सफल भएन र छाडिदिएँ अनि अहिले बाख्रा पालनमा नै केन्द्रीत छु ।’
बाख्रा पालन केहि फस्टाएपछि उनले सरकारी तवरबाट पनि केही सहयोग हुन्छ भन्ने थाहा पाए । त्यसपछि तिमिल्सिनाले सहयोगका लागि विभिन्न सरकारी अड्डाहरुमा आवेदन दिए । नभन्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको नमुना खोर प्रदर्शनमा उनी प्रथम नै भए । र, १० लाख अनुदान पाए । परियोजनाबाट दश लाख पाएपछि आफ्नो २ लाखको श्रमदान लागएर १२ लाखमा आधुनिक खोर बनाए । उक्त खोरमा एक सय पचास वटा बाख्रा अट्छ । हालसालै मात्र उनले सहकारीको ६० हजार किस्ता तिर्नका लागि १५ ओटा बाख्रा बेचे । अहिले उनको फार्ममा २२ वटा माउ बाख्रा, ४ वटा खसी र बाँकी बाठापाठी गरेर ४५ वटा बाख्रा छन् । उनले स्थानीय खरी प्रजातिका बाख्रा पालेका छन् । ती स्थानिय प्रजातिका माउ बाख्राको तौल कम्तीमा १५ र बढीमा २२ केजीको हुने उनले सुनाए ।
उनले बाख्रा पाल्न थालेको ३ वर्ष पुग्न लाग्यो । यस अवधीमा धेरै अनुभव सँगाले । ‘मेरो फार्ममा धेरै बाख्रा भइसक्थ्यो होला तर म किन्ने मान्छे आउने बित्तिकै बेचि हाल्छु ।’ उनी भन्छन्, ‘हाम्रो तिर देवी देउतालाई चढाउन स–साना बोका पाठाको प्रयोग हुन्छ । त्यसकारण मेरो फार्ममा हुर्केको बाख्रा बेचिहाल्छु र राम्रा माउ बाख्रा ल्याएर पाल्छु ।’
पाठहरु खसी बनाएर बेच्नु भन्दा बोकाहरुबाट राम्रो नफा हुने उनको अनुभव छ । सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा देवी देउतालाई बोकाहरु चढाउने भएकाले सोबाट फाइदा हुने उनले उल्लेख गरे ।
पहिले गाउँकै लोकल बोका ब्याडका लागि राखेको भए पनि त्यसको सन्तान हुर्किएपछि हाडनाता नलागोस भनेर सुर्खेतबाट ब्याडका लागि बोयर जातको बोका ल्याएको उनी बताउँछन् । बाख्राका पाठीहरुको माग नहुने भएकाले त्यसमा खासै फाइदा नभएको उनले बताए । ‘हामी खसी बोकाहरु अनुमानित मोलमोलाई गरेर बेच्छौँ तर जिउँदै तौलीएर भने बेच्दैनौँ ।’ उनले भने, ‘हाम्रो स्थानीय बाजार बिनायकमा खसीको मासु प्रति केजी ७ सय ५० रुपैयाँ छ ।’
उनले स्थानीय बजारमा जिउँदो तथा मारेर दुबै खालको खसी बेच्ने सुनाए । उनको फार्मबाट उत्पादित बाख्रा सबै स्थानिय बजारमा नै खपत भएको उल्लेख गरे । आफ्नो खोरमा उत्पादन गरेको खसी तथा बोकाहरु बिक्री गर्न अहिलेसम्म बाहिरी बजारमा पठाउन नपरेको सुनाउछन् । भविश्यमा बाख्रा पालन गरेर धेरै उत्पादन भएमा सो स्तानीय बजार खपत नभएमा बाहिरी जिल्लामा पनि पठाउन सकिने उनको विश्वास छ ।
करिब साढे दुई वर्ष मात्रै बाख्रा पालन सुरु गरेको भएर अहिलेसम्म उनी वर्षिक एक लाख पचास हजार मात्रै कमाउन सफल भएका छन् । बाख्राको पालन पोषाण गर्नका लागि तीन जना घरका सदस्य छन् । परियोजनाबाट खोरका लागि सहयोग पाएपछि बाख्रा पाल्न निकै सजिलो भएको उनी सनाउँछन् ।
पहिले आफुले बनाएको खोरमा बाख्रा पाल्न निकै कठिन भएको उनले बताए । ‘मैले बनाएको खोरमा बाख्राको खुट्टा भाँचिने, लड्ने हुन्थ्यो तर आधुनिक खोर बनेदेखि त्यस्तो केही समस्या छैन्,’ उनी भन्छन्, ‘खोरको सरसफाई गर्न पनि निकै सजिलो भएको छ । परियोजनाको खोरले धेरै फाइदा दिएको छ ।’
बाख्रामा लाग्ने रोगका उपचारका लागि उनले ड्रिप इन ट्यांकी पनि बनाएका छन् । बाख्रामा लाग्ने रोग तथा किटाणु मार्नका लागि त्यस ट्यांकीमा औषधी हालेर बाख्रालाई डुबाउने गरेको उनले सुनाए । ‘पहिले ड्रिप इन ट्यांकीमा पानी भर्छौँ र त्यसमा बाख्राको शरिरमा हुने किटाणु तथा जुम्रा मार्ने औषधी हालेर बाख्रालाई डुबाउछौ÷हिडाउँछौँ ।’ उनले भने, ‘यो ट्यांकी चाहि मैले ३५ हजार खर्च गरेर बनाएको हुँ ।’
बाख्रामा केही रोग लागेमा नजिकैको भेटेरीनरीमा लगेर देखाउने गरेको सुनाए । बाख्रामा लागेको रोग अनुसार डाक्टरको सल्लाह र परार्मश बमोजिम औषधि उपचार गर्ने गरेको उनले बताए ।
उनले बाख्रा पालन सम्बन्धि पनि विभिन्न तालिम समेत लिएका छन् । तालिममा उनले बाख्रामा कस्तो रोग लाग्दा उपचार गर्ने विधि सिकेका छन् । यतिमात्रै होइन रोगको पहिचान कसरी गर्ने समेत उनलाई ज्ञान छ ।
बाख्राको स्याहार कसरी गर्ने लगायतका सम्पूर्ण कुरा सिकेको सुनाए । बाख्रामा प्रायः जुम्रा तथा किर्ना पर्ने समस्या देखिएको उनी बताउँछन् । अहिलेसम्म उनको फार्मको बाख्रामा खासै रोगको प्रकोप नभएको उनले बताए । नगरपालिकाले पीपीआर भ्याक्सिन उपलब्ध गराएकाले उनको बाख्रामा पीपीआर रोग नलागेको सुनाए ।
बाख्रालाई आवश्यक पर्ने दाना पनि आफ्नै खेत बारीमा उत्पादन गर्ने गरेका छन् । उनले मकै लगायत विभिन्न बाली बाख्रालाई दानाका रुपमा खुवाउन प्रयोग गरेको बताए । उनको बारीमा उत्पादन भएको मकै करिब तीन महिनासम्म बाख्रालाई दाना पुग्ने उल्लेख गरे । ‘बाख्रालाई चरणको अलवा दाना दिनु पर्छ,’ उनले भने, ‘हामी बाख्रालाई मकै, भट्मास जस्ता दाना दिन्छौँ ।’
उनले उत्पादन गरेको दाना ३ महिनालाई पुगेपनि बाँकी समय बाख्राका लागि दाना किन्नु पर्ने सुनाए । ‘औसतमा वार्षिक एक लाख रुपैयाँ बाराबरको दान किन्नु पर्छ ।’ उनले भने ।
भारतमा गरेका जगिरभन्दा आफ्नै देशमा गरेको कामले सुख भएपनि आम्दानी भने नभएको उनले दुःखेसो गरे । बाख्रा पालन गर्दा जंगली जनावर, रोग, किराले दुःख दिने सुनाए । ‘जंगली जनावरले बाख्रा खाइदिन्छ, रोगले मर्ने कहिले बाख्रा मर्छ ठेगन नै हुँदैन ।’ उनले सुनाए ।
बाख्रा पालनमा मेहनत धेरै, नाफा कम भएको सुनाए । ‘बाख्रा पाल्दा घाँसको व्यावस्था पहिले नै गर्नु पर्ने रहेछ,’ उनले भने, ‘दानामा धेरै खचै हुन्छ, जंगल चरनमा लैजाँदा जंगली जनावरले बाख्रा मारिदिन्छ ।’
अहिलेसम्म उनको ५ वटा बाख्रा चितुवाको आक्रमणपरि मरिसकेका छन् । चितुुवाको आक्रमणले घरेलु जनावरलाई आर्यो भने वन विभागले क्षतिपूर्ति दिन्छ भन्ने सुनेका थिए । र, त्यसैअनुसार विभागमा निवेदन समेत बुझाए । तर, भरपाईको भ समेत नभएकोप्रति उनले रोष प्रकट गरे ।

अन्ततः केही पाएनन् । जंगलमा मारिएका जनावरको कुनै क्षतिपूर्तीको व्यवस्था नभएपनि घर नजिकै जंगली जनावर आएर मार्यो भने क्षतिपूर्तिको व्यवस्था छ । तर, उनले भने केहि पाएनन् । सार्वजनिक विदाका दिन भेटेरीनरी कार्यलय बन्द हुँन्छ, त्यो बेला बाख्रा बिरामी पर्यो भने ठूलो समस्या हुने उनले सुनाए ।
सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्नेहरु प्रायःको राजीरोटी भारतकै मजदुरीले चल्ने हो । तसर्थ, सरकारले पश्चिम क्षेत्रमा कृषिको विषय अध्ययन गरि सोही अनुसार योजना लागू गर्न उनले सुझाए । भारतमा काम गर्ने युवालाई फर्काउन अग्राह समेत गरे ।
स्राेत : हलाेखबर