नेपालमा सुन्तला फलाएर भारतमा बेच्छन् दार्चुलाका धनसिंह भण्डारी

काठमाडौं, २९ पुस । नेपाल पछिल्लो समय कृषि उपज वा कृषिजन्य वस्तुहरू निर्यातभन्दा आयातमुखी नै हुँदै गएको छ । नेपालमा उत्पादन गरिएका निकै कम वस्तुहरू बाहिर मुलुकमा निर्यात हुन्छ ।

अझ भारतीय सीमा क्षेत्रको नेपालीबस्तीमा त नुन, तेल, तरकारीलगायत दैनिक रूपमा अवश्यकता पर्ने सर्फ, साबुन, ब्रस, टुथपेस्ट सबै भारतबाटै ल्याई प्रयोग गर्छन् । तर, सीमा क्षेत्रमा कृषि कर्म गर्नेहरू नेपालमा उत्पादन गरी कतिपय वस्तु भारतीय लोकल बजारमा लगेर बिक्री गर्ने गरेका पनि भेटिन्छन्।

तिनैमध्येका एक हुन् – दार्चुलाका धनसिंह भण्डारी । उनले नेपालमा फलाएका सुन्तला सीमापारि लगेर बिक्री गर्छन् । उनले वर्षमा एक सिजनको सुन्तला भारतीय बजारमा नै लागेर बेच्ने गरेका छन् ।

भण्डारी उमेरले ५३ वर्ष पुगे । सोही बारीबाटै छोराछोरी पढाए । घरपरिवार पाले परम्परागत रूपमा सुन्तला खेती गर्दै आएका भण्डारीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला बगैंचा व्यावस्थापनमा ठूलै सहयोग गरेको छ । उनले बगैंचा व्यवस्थापन गर्न सिँचाइ सुविधाका लागि दुई लाख अनुदान पाए । सुन्तला बगैंचामा आवश्यक पर्ने औजार पनि पाएको बताए ।

‘पहिले घरमा खान र घर खर्च चलाउन अलिअलि बेच्ने गरेको भए पनि परियोजनाले सिँचाइ सुविधा, तालिमलगायत सहयोग गरेपछि व्यावसायिक रूपमा खेती गर्न थालेका छौं,’ उनले भने, ‘अब अझै क्षेत्रफल विस्तार गर्ने योजनामा छु ।’

भारतको सीमा नजिकै भएकाले नेपालमा बेच्नुभन्दा भारत लगेर बेच्दा राम्रो मूल्य पाइएकाले उतै लगेर बेचेको उनी सुनाउँछन् । अहिले भारतीय बजारमा सुन्तलाले मूल्य राम्रो पाइरहेको सुनाए । ‘यदि लगनशील भएर राम्रोसँग खेती गर्ने हो भने यत्तिको मूल्य पाउँदा किसानलाई राम्रै फाइदा बस्छ,’ उनले भने ।

यस परियोजना आउनुभन्दा पहिले के रोग लाग्यो कसरी उपचार गर्ने केही थाहा नभएको उनले बताए । तर, परियोजना लागू भएदेखि अहिले सुन्तला खेती सम्बन्धी धेरै ज्ञान भएको उनी बताउँछन् ।

उनले परम्परागत रूपमा खेती गर्दै आएको सुन्तला सिँचाइका लागि परियोजनाले दुई लाख रुपैयाँ सहयोग गरेको छ । यसका साथै सुन्तलामा लाग्ने रोग किरा व्यवास्थापनका लागि प्रविधि पनि सिकाएको उनले बताए ।

‘सुन्तलामा लाग्ने रोग किरा नियन्त्रण गर्नका लागि बोडोपेस्ट र निलोथुठो बनाउन सिकाउनु भएको छ,’ उनले भने, ‘सुन्तलाको हाँगा सुकेमा काटेर निलोथुठो लगाउन भन्नु भएको छ, धेरै किरा लागेमा बोडोपेस्ट छर्न भन्नुभएको छ ।’

उनले गत वर्ष आफ्नो बारीमा ३० देखि ३५ डोको सुन्तला फलाएको बताए। त्यो सुन्तला भारतमा लागेर बेचे । उनी सुन्तला किलोमा नभएर दाना गनेर बेच्ने गर्छन् । ठूला दाना सुन्तला प्रतिगोटा पाँच रुपैयाँको हिसाबले १२ ओटा अर्थात् एक दर्जन सुन्तला ६० रुपैयाँमा बेच्छन् । ‘नेपालमा किलोको हिसाबले सुन्तला बेचिन्छ,’ उनी भन्छन्, ‘भारतमा दर्जनका हिसाबले बेचिन्छ, यहाँजस्तो हल्ला गर्न पनि पर्दैन, आफैं आएर खरिद गर्छन् ।’

उनले मध्यम खालका सुन्तलाका प्रतिदर्जन ४५ रुपैयाँ बेचेको सुनाए । सुन्तलाका सबैभन्दा साना दाना ३० रुपैयाँ प्रतिदर्जनका हिसाबले बेच्छन् । एक डोकोमा ३५ देखि ४० दर्जन सुन्तला अट्ने उनी बताउँछन् ।

उनले बताए अनुसार एक डोको सुन्तला बेचेर उनी २४ सय रुपैयाँ कमाउँछन् । गत वर्ष सुन्तला बेचेर उनले एक लाखभन्दा बढी आम्दानी गरे तर यो वर्ष सुन्तला उत्पादनमा कमी आएकाले अम्दानी कम हुने उनले बताए।

बगैंचाबाट यो वर्ष १६ डोको मात्रै सुन्तला फलेको उनी बताउँछन् । आजभोलि उनी सिमापारिको लोकल भारतीय बजारमा सुन्तला बेच्न उचित ठान्छन् ।

उत्पादन राम्रो हुने हो भने बजारको समस्या नरहेको उनी बताउँछन् । ‘हामी सीमानजिकै भएकाले सुन्तला उत्पादन भएमा भारतीय बजार राम्रो मूल्यमा पाउन सक्छौं,’ उनले भने ।

यो वर्ष सुन्तलामा करिब ५० प्रतिशतभन्दा धेरैले कमी आएकाले उनी निराश छन् । उनले भने, ‘सुन्तलामा प्रायः जरा कुहिने, पात तथा फल झर्ने, फलमा दाग बस्ने, हाँगाहरूमा किरा लाग्ने तथा पातहरू पहेंलो हुने रोग लाग्छ ।’

उनले सुन्तलामा हाँगा र पात खाने किराको पनि प्रकोप रहेको बताए । उनका अनुसार फल कुहाउने किरा लाग्ने भएकाले विषादी प्रयोग नगरी शुद्ध अर्ग्यानिक फलाउन किसानहरूलाई निकै कठिन छ ।

यो वर्ष सुन्तलामा धेरै रोग लागेको उनले बताए । ‘सुन्तला कुहिने हाँगाहरु सुकेर जाने लगायत समस्याले उत्पादनमा कमी आयो,’ उनी भन्छन्, ‘मैले विज्ञहरूसँग सल्लाह गरेर धेरै उपचार गरे पनि रोग हराएन ।’

सुन्तला बेच्न जाँदा नगरपालिकाले २० रुपैयाँ राजस्व लिने गरेको बताए । यस्तै, नगरपालिकाको गाडीले ढुवानी गरेमा भाडा ५० रुपैयाँ लाग्ने गरेको उल्लेख गरे । सीमापारि र वारि गर्नका लागि महाकाली नदी पार गर्नुपर्ने उल्लेख गरे । सो नदी तार्नका लागि जाँदा एक सय र फर्किँदा पनि एक सय रुपैयाँ तिर्नुपर्ने बताए ।

उनले गरिआएको कृषि अर्थात् सुन्तला बारी डिपिआरमा परेको उल्लेख गरे। उनले सो जग्गा मासिएमा आफ्नो रोजीरोटी खोसिने दुस्खेसो गरे ।

‘जिन्दगीभर यही सुन्तलाबाट जीवन चलाएँ,’ उनले भने, ‘अहिले मेरो सुन्तला बगैंचा डिपिआरमा परेको छ ।’

बाटो निर्माण कार्यका लागि उनको जमिन डिपिआरमा परेसँगै गरिखाने जग्गा जाने भनेर दुस्खेसो गरे । ‘बाटो बन्नु राम्रो हो तर मैले गरिखाने ठाउँ बगैंचा जाने भयो,’ उनले भने ।

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने हो भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाजस्ता अन्य विभिन्न सरकारी परियोजना आवश्यक रहेको उनको ठहर छ । नेपाललाई समृद्धिमा लाने एक मात्र विकल्प कृषि भएको र दिनदिनै लाखौं युवा विदेशी रहँदा सरकारले पलायन रोक्न कुनै परियोजना तथा नीति नबनाएकोमा उनले दुस्ख व्यक्त गरे ।

सरकारको नारा मात्र नभई गाउँ-गाउँमा गएर किसानलाई पर्याप्त तालिम पनि दिनु पर्ने उनको बुझाइ छ । दाचुर्लाका हरेक घर परिवारले आफू खानका लागि आफैं सुन्तला खेती गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us