
१. डढुवा रोग (Blight)
लक्षणहरू
पातमा डढेको जस्तो लक्षण देखिन्छ । शुरुमा पानीले भिजेको जस्तो हल्का खैरो हुन्छ र गाढा खैरो वा कालो रङ्गमा परिणत हुन्छ । अनुकूल वातावरणमा त्यस्ता थोप्लाहरूको वृद्धि भई बोटलाई डढाइ दिन्छ । ओसिलो अवस्थामा पातको तल्लो सतहमा सेतो ढूसी देखिन्छ र फलमा खैरा कालो दागहरू देखा पर्दछन्।
व्यवस्थापनका विधि
-रोग लागेको बोट, पुराना बोटहरू र झार पात बटुली जलाउने र खेतवारी सफा सुग्घर राख्ने ।
-रोग शुरु हुने बेलादेखि कपर अक्सिक्लोराइड (ब्लाईटक्स ५० % WP) १.५ ग्राम र मेन्कोजेव ७५%WP) (डाइथेन एम– ४५०) विषादी १.५ ग्राम मिलाई जम्मा ३ ग्राम प्रतिलीटर पानीमा मिसाएर ७–१० दिनको फरकमा ३–४ पटक बोट राम्ररी भिजिने गरी छर्कने । अथवा (Chlorothalonil 75% WP (Diffence, Kaavach, Protector) १.५ ग्राम अथवा (Propineb 70% WP (Antracol, Antragold, Ki Antra)३ ग्राम प्रतिलीटर पानीमा मिसाएर छर्कने।
-Dimethomorph 50% WP (Kingstival, N-Bat, Real Bat) १.५ ग्राम वा Fenamidon 10% +Mancozeb 50% WG (Ki Ten, Sectin) ३ ग्राम प्रतिलीटर पानीमा मिसाएर छर्कने।
-Cymoxanil 8% +Mancozeb 64% WP (Kingmill 72, Moximate) २ ग्राम वा Metalaxyl 8% + Mancozeb 64% WP (Ridomyl, Kingmill MZ, Krinoxyl gold) २ ग्राम प्रतिलीटर पानीमा मिसाएर छर्कने।
२. टोमाटो मोज्याक भाइरस (Mosaic virus)
लक्षणहरू
साधारण पातको हरियोपन भन्दा बेग्लै हरिया र हल्का हरिया भागहरूमा छिरविरे लक्षण देखापर्दछ। त्यस्ता पातहरूमा खाल्डा खुल्डी परेको समेत देखिन सक्छ । वोटवेर्नाको वृद्धि राम्रोसँग हुँदैन र फल कम लाग्छ ।
व्यवस्थापनका विधि
-स्वस्थ बोटमा फलेका फलबाट मात्र बीउ छान्ने ।
-रोगी बोट हटाई नष्ट गर्ने ।
-रोगी बोट छोएर हात राम्ररी नधोई स्वस्थ वोटलाई नछुने ।
३. लीफ कर्ल भाइरस (पात घुम्रिने रोग) (Leaf Curi Virus)
लक्षणहरू
यो रोग खुर्सानी र गोलभेडाको लागि महत्वपूर्ण छ । रोग लागेको बोटका पातहरू घुम्रिएर माथितिर फर्कन्छ र पातहरू फिका पहेंलो र साना साना हुन्छन् । खुर्सानीमा पातहरू डुंगाको आकारमा घुम्रिन सक्छ । त्यस्तो रोग लागेको बोटहरूमा कम फुल्ने वा फलै नलाग्ने पनि हुन सक्छ । यसबाहेक पातहरूमा गुज्मुजिएको लक्षण पनि देखा पर्दछन्।
व्यवस्थापनका विधि
-रोग लागेको बोट देखा पर्नासाथ उखेलेर नष्टगर्ने
-यो रोग सेतो झिँगाबाट सर्ने हुनाले डाईमेथोएट (रोगर ३०५ इ.सी.) कीटनाशक बिषादी १ मी.ली. प्रति लीटर पानीका दरले प्रयोग गरी त्यसलाई नियन्त्रण गर्ने ।
४.डढुवा (Phomopsis Blight)
लक्षणहरू
वेर्नामा डाँठ कुहिएको लक्षण देखा पर्छ भने पातमा गोलो खैरा थोप्लाहरू देखिइ वीच भागमा केही फिक्कापन देखिन्छ । मसिना काला काला पिनको टाउको जस्ता दागहरू हुन्छन् । त्यस्तै फलमा चक्का परेको ठूलठूला थोप्लाहरूको विकास भई कालो मसिना गिर्खाहरू देखिइ फललाई कुहाइ दिन्छ ।
व्यवस्थापनका विधि
-स्वस्थ बीउमात्र प्रयोग गर्ने ।
-कार्बेन्डाजिम ५०% WP – (Bavistin, Derosal, Dhanustin) २ ग्राम प्रति किलोको दरले बीउ उपचार गरेर मात्र वेर्ना राख्ने ।
– Mancozeb 75%WP (Dithane M 45, Indofil M 45, Surya M 45) अथवा कपर अक्सिक्लोराइड ५०% WP (ब्लाईटक्स , Curex), २-३ ग्राम प्रति लीटर पानीका दरले मिसाई छर्कने ।
-घुम्ती बाली लगाउने ।
५.ओइलाउने रोग (Wilt)
लक्षणहरू
बोटहरू सर्लक्क ओइलाएको देखिन्छ । त्यस्ता बोटलाई काटेर सफा पानीमा डाँठ डुबायो भने सेतो शांकाणुनिस्केर पानीमा घोलिन्छ र धमिलो वन्छ ।
व्यवस्थापनका विधि
-अन्य बाली सँग घुम्ती बाली लगाउने ।
-रोग अवरोधक जातहरू लगाउने ।
६.जरामा गाँठा पर्ने रोग (Root Knot Nematode)
लक्षणहरू
बोट सानो र ख्याउटे भई बढ्न सक्दैन र पातहरू पहेंलिएर झर्न थाल्छ । त्यस्ता वोटको जरामा साना गिर्खाहरू बनेका हुन्छन्जसले गर्दा पछि बोट ओइलाउँछ ।
व्यवस्थापनका विधि
-अन्न बालीसँग घुम्ती बाली अपनाउने ।
-खेतको खनजोत गहिरोसँग गर्ने ।
-मुख्य बालीसँग सूर्यमूखी, सयपत्री जस्ता पूलको बोटहरू रोप्ने ।
-रोगी बोटहरू नष्ट गर्ने ।
७.कोत्रे रोग (Anthracnose)
लक्षणहरू
बोटको टुप्पा माथिबाट सुक्दै आउँछ । यसले गर्दा पूरै हाँगा वा बोट सुकेर मर्दछ। बोटको डाँठहरूमा काला काला स–साना गिर्खाहरू देखिन्छन् । खुर्सानीको फलमा खास गरी रातो हुने बेलामा दागहरू देखिई पछि फल कुहिन्छ । त्यस्ता दागहरूमा थुप्रै काला गिर्खाहरू बन्दछन्।
व्यवस्थापनका विधि
-रोगी बोटको फलबाट बीउ नराख्ने ।
-क्याप्टान ५०% WP (धानुटान) विषादीले बीउ उपचार गर्ने
-खेतमा सफा सुग्घर राख्न रोग लागेका पुराना बोटहरू र झारपातहरू बटुलेर जलाउने ।
-रोगको लक्षण देखा पर्नासाथ कपर अक्सीक्लोराइड ५० % WP (व्लाइटक्स) वा मेन्कोजेव ७५ % WP ) (डाइथेन एम–४५) ३ ग्राम प्रति लीटर पानीमा मिसाएर ७–७ दिनको फरकमा ३ पटक छर्कने । अथवा Chlorothalonil 75% WP (Diffence, Kaavach, Protector) २ ग्राम अथवा Captan 50% WP (Captan, Captra) ३ ग्राम प्रति लीटर पानीमा मिसाएर छर्कने ।
८. गोलभेंडाको पात खन्ने कीरा Tomato leaf minor Tuta absoluta (Meyrick)
लक्षणहरू
यसले कलिलो फल बढी नष्ट गर्छ । लार्भाले पात, डाँठ, मुना र फल भित्र छेडेर क्षति गर्दछ ।क्षतिग्रष्त पातलाई नियालेर हेदौ सेतो झिल्ली भित्र लार्भा देन सकिन्छ । यो कीराको प्रकोप बढी भएमा पुरै पातहरू जलेर नष्ट भएको देख्न सकिन्छ ।
व्यवस्थापनका विधि
-बत्तिको पासोको रुपमा प्रयोग वा टिएलएम ल्यूर फेरोमन ओटाटी ट्रयाप वा स्टीकी ट्रयापमा प्रति रोपनी एउटा प्रयोग गर्ने।
-ब्यासिलस थुरिन्जीनेसीस कुस्टाकी –बीटी) १५ डब्लुपी १–२ ग्राम प्रति लि. पानीमा सानो अवस्थाको लार्भा हुँदा साँझ पख छर्कने।
-क्लोरएन्ट्रानिलिप्रोल १८.५५ एससी ३ मिली प्रति १० लि. पानीमा राखी छर्कने ।
-स्पिनोसाड ४५५ एससी १ मिलि प्रति ३ लि. पानीमा राखी छर्कने ।
स्रोत :- कृषि व्यवस्थापन सूचना प्रणाली / हलाेखबर