धरान (सुनसरी), २३ कात्तिक । बराहक्षेत्र नगरपालिका–६ का किसानहरू व्यावसायिक रूपमा कोदोखेतीतर्फ आकर्षित भएका छन्। यहाँका अधिकांश किसानले धान र मकै छाडेर आफ्नो खेतबारीमा व्यापक रूपमा कोदो लगाउन थालेका छन्।
स्थानीय किसान अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा वर्षेनी कोदो खेती गर्दै आएका छन्। उनले कोदोखेती अन्य अन्नबालीको तुलनामा सजिलो र उत्पादन पनि राम्रो हुने बताउँदै यसतर्फ आकर्षित भएको जनाए। “विगत १७ वर्षदेखि कोदोखेती गर्दै आएको छु, पछिल्लो समय यही खेतीबाट घर खर्च पनि धान्न सकिने गरी आम्दानी हुँदै आएको छ,” उनले भने। कोदोको बहुउपयोगिता र आम्दानीको सम्भावना देखेर अन्य किसानहरू पनि यसतर्फ आकर्षित भएको उनले बताए।
किसान शान्ता घिमिरेले पनि धान र मकैको सट्टा कोदोखेती गर्न थालेकी छन्। “धान र मकैमा जति मेहनत गरिन्छ, त्यति उत्पादन हुँदैन, तर कोदोमा रोग किरा लाग्ने समस्या पनि कम हुने हुँदा आम्दानी राम्रै भएको छ,” उनले भनिन्। एक कठ्ठा जमिनमा १२० किलोभन्दा बढी उत्पादन हुने र स्थानीय बजारमा इनरुवा, इटहरी, धरानजस्ता स्थानमा बिक्री हुने गरेको पनि उनले जानकारी दिइन्।

नारायण विकले १६ कठ्ठा जग्गामा कोदोखेती गर्दै आएका छन्। पाँच वर्षदेखि मकै र धान खेती छाडेर कोदोखेतीमा लागेका विकले कोदोबाट राम्रो आम्दानी भएको र पछुतो नलागेको बताए। “कोदो बिक्रीसँगै घरेलु मदिरा र तोङ्बा बनाएर बिक्री गर्दा पनि राम्रो आम्दानी हुने गरेको छ,” उनले भने। प्रतिकेजी रु ७० देखि रु १०० मा कोदो र एक तोङ्बा रु १५० मा बिक्री हुने जानकारी उनले दिए।
किसानहरूले स्थानीय र प्रदेश सरकारले आर्थिक अनुदान तथा प्रोत्साहन दिन सके अझै सहज हुने बताएका छन्। किसान विश्वकर्माले बीउ उपलब्ध गराइए पनि सहयोग पुग्ने जनाएका छन्।
हाल बराहक्षेत्र–६ मा १५ भन्दा बढी परिवारले व्यावसायिक रूपमा कोदोखेती गर्दै आएका छन्। जिल्ला कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रविनलाल श्रेष्ठका अनुसार सुनसरीमा हाल ४५८ हेक्टरमा कोदोखेती भइरहेको छ र मूल्य वृद्धिले किसानलाई थप लाभ मिलिरहेको छ। कोदोमा रोग नलागेमा यसबाट राम्रो उत्पादन हुने र घरेलु मदिरा, तोङ्बा र पिठो बनाएर प्याकेजिङ गरी बिक्री गर्दा राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ।
धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका विभिन्न वडाहरूमा कोदोखेतीको प्रचलन बढ्दो छ। क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी लगायतका पोषक तत्त्वले भरपूर कोदोले मुटु र पेटसम्बन्धी रोग नियन्त्रणमा मद्दत गर्ने भएकाले यो अन्नबाली स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ।