युक्रेनका राष्ट्रपति जेलेन्स्की: ‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहन्छौं

मङ्सिर २ गते, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष कूटनीतिक माध्यमबाट रूससँगको युद्ध अन्त्य गर्न सक्दो प्रयास गर्ने बताउनुभएको छ। उहाँले यो द्वन्द्व अझ लामो समय नजाओस् भनेर युक्रेन आफ्नो पक्षबाट सक्दो चाँडो समाधान खोज्न तत्पर रहेको बताउनुभएको छ।

युक्रेनी रेडियोसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर हामीले सक्दो प्रयास गर्नुपर्छ। हामीले कूटनीतिक माध्यमबाट यसलाई समाधान गर्नुपर्छ। यो हाम्रो लागि मात्र होइन, विश्वका लागि पनि महत्त्वपूर्ण छ।”

उहाँले संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि द्वन्द्व छिट्टै अन्त्य हुने सम्भावना रहेको संकेत गर्नुभएको छ। रिपब्लिकन नेता ट्रम्पले बारम्बार यो युद्ध चाँडो समाधान गर्न आफूले पहल गर्ने बताएका छन्। तर ट्रम्पको सम्भावित कार्यकालले द्वन्द्वलाई कसरी प्रभावित गर्ने भन्नेबारे युक्रेन र रूस दुवैमा अनिश्चितता छ।

जेलेन्स्कीले रूसतर्फ सङ्केत गर्दै भनेका छन्, “हामी यस्तो राज्यसँग लडिरहेका छौँ जसले आफ्ना जनताको कदर गर्दैन, जसको सत्तामा व्यापक संसाधन र उपकरणहरू छन्। उनीहरूले मानिसहरूको मृत्यु वा पीडालाई महत्त्व दिदैनन्।”

पुटिनको कठोर शर्त
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो कब्जामा रहेका युक्रेनी भूभाग किएभले दाबी नगरे मात्र वार्ताको बाटो खुल्ने बताउनुभएको छ। क्रेमलिनले जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको कुराकानीमा यो सर्तलाई दोहोर्‍याएको छ। जेलेन्स्कीले भने पुटिनको यो शर्तलाई स्पष्ट रूपमा अस्वीकार गर्नुभएको छ।

सैन्य स्थितिमा सुधार
मस्कोले यस वर्षको गृष्मयामदेखि पूर्वी युक्रेनमा आफ्नो सैन्य अभियान तीव्र बनाउँदै आएको छ। रुसी सेना प्रमुख क्षेत्रहरूजस्तै पोक्रोभ्स्क र कुराखोभ नजिक पुगेको भए पनि, युक्रेनी प्रतिरोधका कारण उनीहरूलाई ठूला क्षति व्यहोर्नुपरेको छ।

शनिबार आफ्नो साप्ताहिक सम्बोधनमा जेलेन्स्कीले भन्नुभयो, “रुसी सेनाले धेरै ठूलो क्षति व्यहोरेको छ। केही क्षेत्रमा उनीहरूको कारबाही सुस्त भएको छ, जुन हाम्रो लागि सकारात्मक छ।”

युद्धको क्रममा वार्ता र शान्तिका प्रयासहरूको चर्चा भइरहे पनि, द्वन्द्व समाधानको यथार्थ प्रक्रिया अझै कठिन देखिएको छ। जेलेन्स्कीले यो युद्ध चाँडोभन्दा चाँडो अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग पनि सहयोगको अपेक्षा राख्नुभएको छ।

युक्रेन र रूसबीचको यो द्वन्द्वले विश्वव्यापी रूपमा आर्थिक र राजनीतिक असर पुर्‍याइरहेको छ। त्यसैले यो समाधानमा सबै पक्षहरूको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us