काठमाडौंका सरकारी अस्पताल सतर्कता केन्द्रको निगरानीमा

काठमाडौं । संघीय राजधानी काठमाडौंमा नै रहेका सरकारी अस्पतालको सेवा प्रवाह कमजोर हुँदै गएको र सर्वसाधारणले उपचार पाउँदा कष्टसाध्य भोग्नुपरेपछि राष्ट्रिय सतर्कता केन्द्रले त्यस्ता अस्पतालमाथि अनुगमन र निगरानी बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारी अस्पतालको सेवा प्रवाह दयनीय भएको र सर्वसाधारणले दुःख पाउने क्रम बढेको भन्दै उल्लेख्य गुनासा र उजुरीहरू आउन थालेपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा सतर्कता केन्द्रले सरकारी अस्पतालको निगरानी र अनुगमन थालेको हो।

सतर्कता केन्द्रका अनुसार काठमाडौं उपत्यकाका वीर, कान्ति, टिचिङ, निजामती, पाटन, भक्तपुर अस्पताललगायतका झन्डै एक दर्जन अस्पताललाई निगरानीमा राखेर अनुगमन थालिएको हो। सतर्कता केन्द्रका सचिव सरजुकुमार वैद्यले जनताको स्वास्थ्यमा खेलबाड गर्नेहरूमाथि आवश्यक कारबाही हुने बताउनुभयो।

उहाँले काठमाडौं उपत्यकाका विभिन्न सरकारी अस्पतालमा केन्द्रले विभिन्न अनुसन्धान टोलीहरू बनाएर अनुगमनमा खटाएको जानकारी दिनुभयो । संघीय राजधानीका सरकारी अस्पतालमा नै सर्वसाधारणले विशेषखालका उपचार पाउन महिनौं कुर्नुपर्ने र सेवा प्रवाह कमजोर देखिनु दुःखद भएको केन्द्रका सचिव वैद्यको भनाइ छ।

महालेखा परीक्षकको कार्यालयले पनि काठमाडौंलगायतका देशका अन्य भागका सरकारी अस्पतालको सेवा प्रवाह कमजोर भएको भन्दै सेवा प्रवाह सुधार्न निर्देशन दिँदै आएको छ। महालेखाका अनुसार वीर अस्पतालमा पछिल्ला वर्षहरूमा बिरामीको चाप उच्च रहेको तर सोअनुसार राम्रो सेवा दिन नसकेको, यो अस्पताल सेवासुविधा सम्पन्न रेफरल अस्पतालको रूपमा रहेको भए तापनि बिरामीको शल्यक्रियाका लागि १ हप्तादेखि ३ महिनासम्म, क्यान्सर तथा अन्यको उपचारका लागि ६ हप्ता, ट्युमर म्यालेन्सी २ हप्ता, स्कृन कमनवार्ट १ हप्ता, इन्डोस्कोपी ३ हप्ता र युरोलोजी कस्मेटिक सर्जरी १ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको छ।

यसै गरी चिकित्सकबाट लेखिएको औषधी फार्मेसीमा उपलब्ध हुन नसकी बिरामीले बाहिरबाट महँगोमा किन्नुपर्ने अवस्था रहेको छ। सतर्कता केन्द्रका अनुसार वीरकै जस्तो समस्या टिचिङ अस्पताल, पाटन अस्पताल, भक्तपुर अस्पताललगायतका धेरैजसो सरकारी अस्पतालले व्यहोर्नुपरेकाले पनि विकृति बढेको छ। सतर्कता केन्द्रले ती अस्पतालको सेवा प्रवाह, औषधी खरिद र बिक्रीको अवस्था तथा विभिन्न उपकरण खरिद गरी लामो समयसम्म त्यसै थन्काउँदै आएको बारेमा समेत अनुसन्धान थालिएको जनाएको छ।

कतिपय अस्पतालले कमिसनको लोभमा हतारमा करोडौंको उपकरणहरू किनेर ल्याउने र त्यसै थन्काएर राख्ने गर्दा राज्यकोषको करोडौं रुपियाँ त्यसै खेर गइरहेको पाइएको भन्दै सतर्कता केन्द्रले यस विषयमा पनि गम्भीर अनुसन्धान गरी दोषी पहिचान गरिने जनाएको छ। महालेखाले पनि निजामती अस्पताल, वीर अस्पताललगायतले करोडौंका उपकरणहरू त्यसै किनेर वर्षौंदेखि त्यत्तिकै थन्काउँदै राख्दै आइरहेको भन्दै कैफियत औंल्याएको थियो।

निजामती अस्पतालको उपकरण खरिदमा भएको अनियमितताका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ। राष्ट्रिय सतर्कता केन्द्रले निगरानी र छानबिनका क्रममा अस्पतालहरूमा कुनै कैफियत वा अनियमितता भेटिए थप छानबिन र कारबाहीका लागि अख्तियारमा लेखेर पठाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us