संसद्को हिउँदे अधिवेशन आजदेखि : यस्तो छ कार्यसुची

काठमाडौं । आज (माघ १८) बाट शुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरू तीन फ्याक्टरमा विभाजन भएर सामूहिक शक्ति सञ्चयको तयारीमा जुटेका छन्। शुक्रवार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने अधिवेशनलाई सरकारले विधेयक अधिवेशनका रूपमा अघि बढाउने तयारी गरिरहँदा सत्ता बाहिरका दलहरूले सरकार पक्षको विरोधको खाका तयार पारेका हुन् ।

सत्तारुढ दलले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सरकारबाट जारी विभिन्न अध्यादेशलाई पारित गर्दै बढीभन्दा बढी विधेयकहरू छलफलमा ल्याउने र ऐनका रूपमा जारी गर्ने योजनामा छ।

सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा पास गर्ने तयारी गरिरहँदा विपक्षी दलहरूले अध्यादेश पास गर्न नदिने रणनीतिमा छन् । तर, सदनमा सत्ता पक्षको बहुमत भएकाले अध्यादेश पास हुने करिब पक्का छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एस र राजमोले सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिने निर्णय लिएका छन्।

यस्तो छ कार्यसूची:
संघीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको बताउनुभयो।

यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नुहुनेछ। अधिवेशन शुरू भएको दिन दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको छ । शुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नुहुने छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ’आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नुहुने छ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नुहुने छ । बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

यसै गरी राष्ट्रियसभाको बैठकमा उल्लिखित कार्यसूचीबाहेक मिडिया काउन्सिल विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। दुवै सदनमा विचारधीन रहेका १९ सहित नयाँ विधेयकसमेत दर्ता गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us