प्रविण पौडेल
नेपालको राजनीति स्वार्थ, अवसरवाद, र जनतालाई भ्रममा पार्ने खेलमात्र बन्दै गएको छ। दुर्गा प्रसाईको गतिविधि नै त्यसको ज्वलन्त उदाहरण हो। केही समय अघि अवैधानिक रूपमा विदेशी मुद्रा ल्याउने प्रयास राष्ट्र बैंकबाट अस्वीकृत भएपछि उनी प्रचण्डको समर्थन खोजे, जब त्यहाँबाट सहयोग पाएनन्, केपी ओलीको पछि लागे। तर, ओलीले पनि संसद बनाउने छनक नपाएपछि, उनले फेरि पूर्व राजा र मण्डले तिर मोडिए। यसले के देखाउँछ? उनीहरूको उद्देश्य कुनै स्थायी समाधान वा देशको हितमा केही गर्नु होइन, बरु जहाँ आफ्नो स्वार्थ पूरा हुन्छ, त्यतै जाने हो।
अहिले उनीहरू ‘२० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा’ जस्ता आश्वासन दिएर पीडित जनतालाई झुक्याउने खेल खेल्दै छन्। के वित्तीय संस्थाले एउटालाई २०/२० लाख छुट दिँदा त्यो। २० लाख जम्मा गर्नेलागि फिर्ता गर्नु पर्दैन र?त्यसैले वास्तविकता फरक छ। यसको एउटै उद्देश्य छ—राजेन्द्र लिङ्देन, कमल थापा जस्ता असफल नेता र कमजोर पार्टीहरूसँग मिलेर फेरी एकपटक जनतालाई प्रयोग गर्ने।
यो अवस्थामा जनता सचेत हुन आवश्यक छ। हरेक २०/३० वर्षमा व्यवस्था परिवर्तन गरेर वा नयाँ नारामा फसाएर देशलाई बलियो बनाउन सकिन्न। नेपाललाई समृद्ध बनाउने हो भने सही सोच, सही नेतृत्व, र दिगो विकासको योजना आवश्यक छ। केवल राजनीतिक लाभका लागि चलाइएका सस्ता नाराले देश झन् अस्थिर बनाउँछ।
अब परिवर्तन सोचमा हुनुपर्छ, व्यवहारमा हुनु पर्छ व्यक्तिमा होइन।नागरिक सचेत र देशको हुनु पर्छ सचेत नागरिकले मात्र अवसरवादी नेताहरूको वास्तविकता बुझ्न सक्छ र आफ्ना निर्णयहरू सतर्कतापूर्वक लिन सक्छ । अब कुनैपनि व्यक्तिले भ्रम फैलाएर, ललिपप देखाएर, वा भावनात्मक नाराहरू दिएर जनतालाई उपयोग गर्ने प्रयास गरे, त्यसको उचित प्रतिकार गर्नुपर्छ। सोच बदलौं, अनि मात्र देश बन्नेछ।
दरबारको कुरा गर्दा ,वीरेन्द्रको वंशनाश पश्चात जब ज्ञानेन्द्र स्वयं राजा भए, उनले बनाएको मन्त्रिमण्डल कस्तो थियो? त्यो सम्झनु जरुरी छ। के उनको शासन सफल थियो? के उनले देशलाई स्थायित्व दिन सके? इतिहासले देखाइसकेको छ—उनको शासन असफल थीयो, जसकारण जनताले उनलाई सडकमा उत्रेर हटाए। यदि उनी कुशल शासक हुन्थे भने, राजतन्त्र किन पतन भयो? अहिले केही व्यक्तिहरू राजतन्त्र फर्काउने सपना देखिरहेका छन्, तर उनीहरूको उद्देश्य जनताको भलो होइन, आफ्नै स्वार्थ पूरा गर्नु हो। फेरि पनि सोझा जनतालाई प्रयोग गरेर कुनै व्यक्तिको गद्दी सुरक्षित गर्ने खेल खेल्न खोजिएको छ। तर, किन जनता फेरि सहिद बन्ने?
देश बनाउने हो भने अन्धभक्त कार्यकर्ता होइन, विवेकशील र सचेत नागरिक बन्न जरुरी छ। बारम्बारको व्यवस्था परिवर्तनले मुलुक बलियो हुँदैन, बरु झन् कमजोर मात्रै बन्छ। परिवर्तनको नाममा गरिने हरेक अस्थिरताले विदेशी शक्तिहरूलाई आफ्नो स्वार्थ पूरा गर्ने अवसर दिन्छ। जब देशभित्र नेतृत्व कमजोर हुन्छ, देशभित्र स्थायित्व हुँदैन, तब बाह्य हस्तक्षेप तीव्र रूपमा बढ्छ। अब हामीले बुझ्नुपर्छ—समस्या व्यवस्थामा मात्र होइन, नेतृत्वको सोच, नियत र कार्यशैलीमा छ।
त्यसैले, परिवर्तनको नाममा अन्धो हुनु हुँदैन, बरु ठोस रूपमा विकास नगर्ने, जनतालाई बारम्बार धोका दिने, भ्रष्टाचारमा लिप्त हुने, र सत्तामा बसेर केवल आफ्नो स्वार्थ पूरा गर्ने नेताहरुलाई सत्ताच्युत बनाउने आन्दोलन आवश्यक छ। मुलुक गम्भीर आर्थिक संकटमा छ, बेरोजगारी उच्च छ, भ्रष्टाचार चरम सीमामा पुगेको छ, नेताहरू आफ्नो सुखभोगमा रमाइरहेका छन्, तर जनता दिनहुँ झनझन दुःख भोग्न बाध्य छन्। यस्तो अवस्थामा अब जनता सचेत भएर एकजुट हुनु जरुरी छ।
खराब काम र गलत पात्रहरूलाई हटाउने जिम्मेवारी अब नागरिककै हो। यदि नेतृत्व देश र जनताको हितमा सोच्दैन जनतालाई बारम्बार झुक्याई रहन्छ भने बंगलादेशमा जसरी त्यहाँका जनताले सरकारलाई सत्ताच्युत गरे, त्यसैगरी नेपालमा पनि जनताले आफैं विद्रोह गर्नुपर्छ। तर, त्यो विद्रोह व्यवस्थाको परिवर्तनका लागि होइन, गलत नेतृत्व हटाउन र सही नीति लागू गराउन हुनुपर्छ। व्यवस्था परिवर्तनको नाममा फेरि देशलाई ३०–४० वर्ष पछाडि धकेल्नु मूर्खता हुनेछ।
त्यसैले अबको आन्दोलन नेतृत्वलाई सुधार्ने, उत्तरदायी बनाउने, र मुलुकलाई स्थिर एवं समृद्ध बनाउने हुनुपर्छ। यदि नेताहरू सुध्रिदैनन्, देशलाई आत्मनिर्भर बनाउने खाका ल्याउँदैनन् भने, तिनहरु हिड्ने पुग्ने हरेक बाटोमा विरोध गर्दै सत्ता नै छाड्न बाध्य पार्नुपर्छ। परिवर्तन व्यवस्थामा होइन, सोचमा आवश्यक छ। पार्टीको कार्यकर्ताबाट राजीनामा दिएर स्वतन्त्र र सचेत नागरिक बन्ने सोच बदल्ने हो, देश बचाउने हो, र सही नेतृत्वलाई स्थापित गर्दै नेपाललाई स्थायी विकासको मार्गमा अघि बढाउने हो। यही नै अबको नागरिक चेतना हो।