चितवन मध्यवर्तीका युवालाई नेचर गाइड तथा सिपमूलक तालिम

चितवन । चितवन राष्ट्रिय निकुञ्ज का मध्यवर्ती क्षेत्रका युवालाई स्वरोजगार बनाउन सिपमूलक तालिम प्रदान गरिएको छ । संरक्षणसँग सम्बन्धित काम गर्दै आएको तराई भूपरिधि परियोजना कार्यालयले मध्यवर्ती क्षेत्रका युवा तथा उत्साहित व्यक्तिलाई नेचर गाइड तथा सिपमूलक तालिम प्रदान गरेको हो ।

बेरोजगार युवालाई निकुञ्जसँग सम्बन्धित क्षेत्रमा आबद्ध हुन सिपमूलक तालिम प्रदान गरिएको तराई भूपरिधि परियोजनाका पूर्वक्लस्टरका इन्चार्ज प्रेम पौडेलले बताउनुभयो । चोरीसिकारी नियन्त्रण जागरण अभियानमा जोड्नका लागि युवालाई सिप प्रदान गरिएको उहाँको भनाइ छ ।

“संरक्षणमा लागेका युवालाई जीविकोपार्जनसँग जोड्न सकियो भने वातावरणको दिगो संरक्षण हुन सक्छ,” पौडेलले भन्नुभयो, “सय जना युवालाई तालिम प्रदान गरेर दीक्षान्तसमेत गरेका छौँ ।” उहाँले उनीहरूमध्ये केहीले रोजगारीसमेत पाइसकेको बताउनुभयो ।

“लाइसेन्स पाएका अधिकांश नेचरगाइड बुकिङ भइसकेका छन् । बारिस्ता तालिम लिएका युवालाई पनि होटेल व्यवसायीले राख्ने कुरा भइरहेको छ,” उहाँले भन्नुभयो । तालिम सञ्चालन गर्न परियोजनाले एक करोड १२ लाख रुपियाँ खर्चिएको छ । एक व्यक्ति बराबर २५ हजार रुपियाँका सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।

डब्लुडब्लुएफका नेपाल प्रमुख घनश्याम गुरुङले सिपको नतिजा देखिने गरी काम गर्न सुझाव दिनुभएको छ । “यहाँ सिकेको सिप विदेश गए पनि काम लाग्छ,” उहाँले भन्नुभयो, “प्रकृतिलाई संरक्षण गर्दै दिगो जीविकोपार्जनमा लाग्नु पर्दछ । प्रकृति जनावरलाई मात्र नभई मानिसलाई समेत चाहिएको छ । आफू बाँच्नका लागि प्रकृतिलाई संरक्षण गर्ने हो ।”

चितवन राष्ट्रिय निकुञ्जका पूर्वकार्यालय प्रमुख रामप्रीतम यादवले स्थानीय लागेमा चोरीसिकारी नियन्त्रण सम्भव हुने बताउनुभयो । “हामीले जैविक विविधता संरक्षण गर्नु पर्दछ,” उहाँले भन्नुभयो, “यसका लागि युवा नयाँ जोस र जाँगरसहित लाग्न आवश्यक छ ।”

“नेपाल जैविक विविधताले धनी छ । भविष्यमा सन्ततिका लागि संरक्षणमा लाग्नु पर्दछ । ठुलो सङ्घर्षले निकुञ्ज स्थापना गरिएको हो,” उहाँले भन्नुभयो, “वन्यजन्तुलाई माया गरे मात्र हामीले पनि माया पाउँछौँ ।”

चितवन राष्ट्रिय मध्यवर्ती सामुदायिक उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले युवालाई संरक्षणमा जोड्नका लागि सिबिएपियु गठन गरिएको बताउनुभयो । रोजगारीको दिगो व्यवस्थापन नभएको अवस्थामा संरक्षण गर्न कठिन हुने छ । युवालाई संरक्षणसँग जोड्न विभिन्न तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत गठन गरिएका सिबिएपियुका स्वयंसेवीलाई स्वरोजगार बनाउन युवालाई बारिस्ता, नेचर गाइड, ब्युटिसियन, एसी बनाउनेलगायतका तालिम प्रदान गरेको हो । बारिस्ता र नेचर गाइडमा गरी एक सय जना युवाले तालिम लिइसकेको तराई भूपरिधि परियोजनाका कार्यव्रmम एसोसिएट निशान केसीले जानकारी दिनुभयो ।गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us